सूचनाको शक्ति - The Power Of Information

        

गैरजिम्मेवार विमानस्थल कार्यालय

नेपालगन्ज विमानस्थल जोखिमपूर्ण, फेरि ‘स्यालको बच्चा’सँग ठोक्कियो जहाज

काठमाडौं । नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज एक जनावरसँग ठोक्किएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार काठमाडौंंबाट उडेको जहाज बुधबार साँझ ७ः०१ बजेतिर नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।

अवतरणका क्रममा धावन मार्गमा स्यालको बच्चाजस्तो देखिने जनावरसँग ठोक्किएको डीएसपी न्यौपानेले जानकारी दिए । उनकाअनुसार चालकदलसहित सबै यात्रु सकुशल छन् । ‘विमानस्थलमा ल्यान्ड गर्ने क्रममा सानो एउटा स्यालको बच्चाजस्तो देखिने जनावरमा ठक्कर खाएर अवतरण भयो । अलिकति विमानको अगाडिको नोज गेयरमा समस्या देखिएको छ । त्यस्तो अप्रिय घटना केही भएन,’ डीएसपी न्यौपानेले भने ।

विमान कुन जनावरसँग ठोक्किएको हो भन्ने प्रष्ट भएन । तर, विमान चालकले स्यालजस्तो देखिने जनावर भएको बताएको विमानस्थलमा खटिएका एकजना प्रहरी अधिकारीले बताए । ती अधिकारीकाअनुसार धावनमार्गमा रगतसँगै ठोक्किएको जनावरको शरीरको केही भाग देखिएको र पछि धावनमार्गलाई पानीले पखालिएको उनले बताए । यसअघि सोही विमानस्थलमा गत कात्तिक १६ गते सीता एयरको जहाजमा बँदेलसँग ठोक्किएको थियो ।

त्यसअघि पनि बुद्ध एयरको ‘एटिआर–७२’ जहाजसँग दुम्सी ठोकिएको थियो । जहाज पार्किङस्थलमा आउँदै गर्दा दुम्सी ठोकिएको थियो । उक्त घटना भने सार्वजनिक भएन । गत वर्ष पनि बुद्ध एयरकै एटिआर–७२ जहाजसँग धावनमार्गमा बँदेल आएर ठोक्किएको थियो । जहाजको पछाडिको पांग्रामा ठोक्किदा बँदेल मरेको थियो भने पाइलटको सावधानीका कारण जहाज थप क्षति हुनबाट जोगिएको थियो ।

गत वर्ष नै विमानस्थलको रनवेमा यती एयरको जहाजसँग पनि बँदेल ठोक्किएको थियो । बँदेल ठोक्किए पनि पाइलटको सावधानीले जहाजमा ठूलो क्षति हुन पाएन । यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । नेपालगन्ज विमानस्थलको सुरक्षा लापर्बाहीले गर्दा पटकपटक यस्ता जोखिमको बेहोर्नुपरिरहेको छ । विमानस्थलको हाल १७ सय मिटर लामो धावनमार्ग छ । वन्यजन्तुकै कारण नेपालगन्ज बिमानस्थल उच्च जोखिममा देखिएको छ ।

विमानस्थल कार्यालयको गैरजिम्मेवारीपनाका कारण विमानमा सधैंजसो वन्यजन्तु ठोक्किरहन्छन् । यसतर्फ विमानस्थल कार्यालयले सुरक्षा संवेदशनीलतामा रत्तिभर चासो देखाएको छैन । धावनमार्ग वरिपरि बाक्लो मात्रामा झाडी र बुट्यान छन् । त्यहाँ बँदेल, खरायो, निलगाई, दुम्सी, स्याल लगायत वन्यजन्तुले बासस्थान नै बनाएका छन् । विमानस्थलबाट नेपालगन्ज–काठमाडौं रुटमा मात्र दैनिक आधा दर्जनभन्दा बढी उडान हुन्छन् ।

यसका साथै पहाडी तथा हिमाली जिल्लामा पनि दैनिकरूपमा दर्जनौं उडान हुन्छन् । तर, विमानस्थलको धावनमार्गमा बढेको वन्यजन्तुको आतंकका कारण प्रायः जहाजले जोखिमपूर्ण उडान भर्नुपरेको छ । विमानस्थलमा पटकपटक जहाजसँग वन्यजन्तु ठोक्किने घटना दोहोरिँदा विमान कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयलाई लिखित र मौखिकरूपमा ध्यानाकर्षण गराउँदा पनि सुरक्षा लापर्बाहीलाई सुधार गर्न सकेको छैन ।

‘नेपालगन्ज विमानस्थलको सुरक्षामा धेरै नै लापर्बाही छ, हप्ता दश दिनमा कुनै न कुनै जहाजसँग वन्यजन्तु ठोक्किरहेका छन्,’ विमान कम्पनीका एक कर्मचारीले भने ‘धावनमार्गमा झाडी र जंगलमात्रै छ । बेलाबेलामा झाडी र जंगल सफाइ गर्नुपर्ने हो तर नागरिक उड्डयन प्राधिकरणले मतलव नै गर्दैन ।’ कैयौं पटक लिखित र मौखिकरूपमा अनुरोध गर्दा पनि कार्यालयले सुनुवाइ नगरेको विमान कम्पनीको गुनासो छ ।

‘जहाजले प्रयोग गर्ने धावनमार्ग सुरक्षित हुनुपर्ने हो तर नेपालगन्जको धानवमार्ग कत्ति पनि सुरक्षित छैन । एकदमै लापर्बाही भइरहेको छ,’ ती कर्मचारीले भने ‘यथाशीघ्र झाडी र बुट्यान काट्ने व्यवस्था गरिदिनुपर्यो । यसमा खेलाँची गरे भोलिका दिनमा दुर्घटना निम्तिन सक्छ ।’ प्राधिकरणले विमानस्थलको धावनमार्गलाई सामान्य तारबार मात्र गरेको छ । विमानस्थलको उत्तरमा मानव बस्ती र पूर्वी–दक्षिण क्षेत्रमा सामुदायिक वन छ ।

कतिपय स्थानमा तारजाली नै जीर्ण भइसकेको छ । ती स्थानबाट वन्यजन्तु मात्र नभएर पशु चौपाया र सर्वसाधारण समेत पस्ने गर्छन् । विमानस्थल वरिपरिको तारबार प्रभावकारी नहुँदा भरपर्दो सुरक्षा व्यवस्थापन हुन नसकेको यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन् । ‘विमानस्थलको धावनमार्गलाई सामान्य तारबार गरिएको छ । कतिपय ठाउँमा त तारबार नै गायव छ । यसले गर्दा पनि वन्यजन्तु धावनमार्गको झाडीमा आएर बस्ने गर्छन्,’ विमानस्थलका एक सुरक्षाकर्मीले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवाश झा विमानस्थलको धावनमार्गमा पटकपटक वन्यजन्तु ठोक्किने क्रम दोहोरिएको बताउँछन् । ‘विमानस्थलको धावनमार्ग वरिपरि झाडी र बुट्यान छन् । त्यहाँ वन्यजन्तु आएर बस्दा रहेछन्,’ उनले भने ‘हामीले विमानस्थलको तारबार र सुरक्षामा धेरै सावधानी अपनाउँदा पनि घटना दोहोरिरहेका छन् ।’

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार ०७:२५