सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेसको १४ औं महाधिवेशन : बाँके क्षेत्र नं.१ मा माधवको ‘ह्याट्रिक’ !

बाँके । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत बाँकेमा हुन लागेको प्रतिनिधिसभा क्षेत्र निर्वाचनको माहोल यतिखेर निकै तात्तिएको छ । यहाँका तीन वटै प्रतिनिधिसभा क्षेत्रमा बुधबार उम्मेदवार मनोनयन र बिहीबार मतदान हुँदैछ । बाँकेका तीन वटा प्रतिनिधिसभा क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नं.१ को निर्वाचनलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।

बाँकेमा अहिलेसम्म सम्पन्न भएका गाउँपालिका/नगरपालिका र प्रदेशसभा तहको निर्वाचन परिणाम हेर्दा संस्थापन (देउवा)पक्ष धेरै अगाडी रहेको छ । जिल्लाभर संस्थापन पक्षको लहर चलिरहेका बेला क्षेत्र नं. १ बाँकेमा पनि संस्थापन पक्षकै लहर देखिन्छ । उक्त क्षेत्रमा एक मात्र सभापति पदका सशक्त उम्मेदवार माधवराम खत्रीको चर्चा ब्यापकरुपमा चलिरहेको छ ।

क्षेत्रीय सभापति खत्रीले यसपटक ‘ह्याट्रिक’ नै गर्ने चर्चा आमकार्यकर्ताले गरिरहेका छन् । खत्रीले यसपटक तेस्रो कार्यकाल जितेर ह्याट्रिकको रेकर्ड कायम गर्न लागेका हुन् । ‘माधव दाईले यसपटक ह्याट्रीक गर्ने निश्चित भइसकेको छ, उहाँको पक्षमा माहोल यसरी तात्तिएको छ कि सबै कार्यकर्ताले यसपटक माधवरामलाई नै ल्याउनुपर्छ भनेर भनिरहेका छन्,’ युवा नेता यमबहादुर खड्काले भने ।

क्षेत्र नम्बर १ मा पार्टीको संगठन सुदृढिकरण, तल्लो तहसम्मका कार्यकर्तालाई सहजै चिन्ने, कार्यकर्ताका पीरमर्का बुझ्ने कुशल संगठनकर्ता भएकाले खत्रीलाई पुनः एक पटक क्षेत्रीय सभापतिमा निर्वाचित गराउन आमकार्यकर्ताले बुझ्ने कुरा भएको नेपाली कांग्रेसका नेता भानुभक्त भट्टराई बताउँछन् । ‘माधवराम खत्री स्थापित नेता हुन्, घरदैलोमा आफै पुग्ने, जनतालाई प्रत्यक्ष चिनेको र जनतासँग घुलमिल गरेको नेता पनि हुन्,’ भट्टराईले भने, ‘कसैलाई ढाट्ने र ठग्ने काम गरेकाा छैनन्, राजनीतिमा इमान्दारिता चाहिन्छ, त्यो इमान्दारिता र लगनशिलता माधवराम खत्रीमा छ ।’

पढे लेखेको युवा नेता र यसअघि प्रतिनिधिसभा निर्वाचन लडेर पनि हारेको हुँदा खत्रीलाई क्षेत्रीय सभापतिमा एकपटक आमकार्यकर्ताले जिम्मेवारी दिनुपर्ने भट्टराई बताउँछन् । ‘माधवरामले जे बोल्छन्, त्यो काम गर्छन्, जे काम गर्न सक्दैनन्, त्यो कुरा बोल्दैनन्,’ भट्टराईले भने, ‘तर कांग्रेसभित्रै यस्ता मान्छे पनि छन्, जसले कामभन्दा कुरा बढी गर्छन्, त्यसकारण इमान्दार नेतालाई रोज्ने कि अरुलाई रोज्ने यसका लागि आम कार्यकर्ताले यतिखेर गम्भिर रुपमा सोच्नुपर्ने बेला आएको छ ।’

दाङको गोल्टाकुरीमा २०२७ साल मंसिर ५ गते जन्मिएका माधवरामले कर्मथलो भने बाँकेलाई नै बनाउँदै आएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.१ कुसुमस्थित भम्का निवासी उनले यसअघि दुई पटक क्षेत्रीय सभापतिको जिम्मेवारी निभाइसकेका छन् । क्षेत्र नं.१ मा नेपाली कांग्रेसको संगठन निकै कमजोर भएको अवस्थामा खत्रीले क्षेत्रीय सभापतिको जिम्मेवारी पाएपछि पहिलो र दोस्रो कार्यकालमा पार्टीलाई चलायमान बनाउनुका साथै हरेक कार्यक्रम र गतिविधि सञ्चालन गरेका थिए ।

खत्रीले विधि विधान र नियम कानुनभन्दा बाहिर गएर कहिल्यै काम नगरेको र अरुलाई पनि त्यसो गर्न नदिने उनको मुख्य विशेषता रहेको उनी निकट कार्यकर्ताहरु बताउँछन् । पार्टीको राजनीतिमा लागेर उनले सरकारी जागिर र नियुक्ती कहिल्यै नदिएको बताए । उनका सहपाठी अहिले सरकारी उच्च पदमा कार्यरत छन् । शैक्षिक योग्यताका हिसाबले स्नातकोत्तर तह उत्र्तीण गरेका खत्रीले आफ्नो जिन्दगीमा दुई दशकभन्दा बढी समय पार्टीकै काममा जुत्ता चप्पल खियाएको कार्यकर्ताहरु बताउँछन् ।

उहाँ कहिल्यै पनि थाक्नुभएन, बरु निरन्तर लागिरहनुभयो, जोश जाँगर चलाइरहनुभयो,’ नेपाली कांग्रेस बाँकेका उपसभापति फुलाराम थारुले भने, ‘माधवराम खत्री यस्तो नेता हो, जसले आफ्नो पुरै जीन्दगी राजनीतिमा खर्चियो, क्षेत्र नम्बर १ मा यस्तो त्यागी नेता पाउनु आम कांग्रेस कार्यकर्ताका लागि गर्वको कुरा हो, त्यसकारण यसपटक उहाँलाई क्षेत्रीय सभापतिमा जिताउनु नै कांग्रेसको भविष्य राम्रो हुनेछ ।’

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १६:१५