सूचनाको शक्ति - The Power Of Information

        

पाइलटको सनक

ड्युटी सकिएको भन्दै रुकुम उडेको विमान नेपालगन्जमै अवतरण

बाँके । नेपाल एयरलाइन्सको एक जना पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगन्ज अवतरण गरिदिएका छन् । पाइलटको सनकका कारण रुकुम उडेका यात्रुलाई नेपालगन्ज झारेर बिचल्ली पारिएको छ ।

यो घटना सोमबारको हो । सोमबार नेपाल एयरलाइन्सको ट्विन अटर विमानलाई तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले स्वीकृत दिइसकेका थिए । त्यसअघि जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए ।

जहाजको ककपिटमा पाइलट पेम्बा शेर्पा बसेपछि एयरहोस्टेजले भनिन्, ‘हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।’ जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो । जहाज रुकुम त उड्यो तर गन्तव्यमा भने पुर्याइएन । पाइलट शेर्पाले जहाजलाई नेपालगन्ज विमानस्थलमा किन अवतरण गराए ?

लाग्न सक्छ, विशेष कारणवस जहाजलाई नेपालगन्ज अवतरण गरिएको हो । तर, वास्तविकता भने त्यस्तो होइन । पाइलट शेर्पाको ड्युटी आवर सकिएका कारण जहाजलाई नेपालगन्ज अवतरण गरिएको रहेछ । पाइलट शेर्पाले आफ्नो ड्यूटी ४ बजे सकिने र करिब त्यही समयमा जहाज नेपालगन्ज विमानस्थल माथि पुगेकाले आफ्नो ड्यूटी सकिएको भन्दै नेपालगन्जमै अवतरण गरिदिएका हुन् ।

निगम स्रोतले भन्यो, ‘पाइलटको ड्यूटी सकिएको भन्दै रुकुम जाने जहाजलाई नेपालगञ्जमै अवतरण गरिदिए । उनको सनकका कारण रुकुम उडेका यात्रुले सास्ती भयो । यात्रुलाई होेटेलमा राख्नुपर्दा निगमलाई आर्थिक नोक्सानी ।’ यता, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पाइटलको ड्यूटी आवर एवम् मौसमका कारण रुकुम उडेको जहाज नेपालगन्ज अवतरण भएको बताए ।

‘सो जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्नुको कारण पाइलटको ड्यूटी आवर र मौसम पनि थियो,’ उनले भने । निगमका अनुसार नेपालगञ्ज अड्किएका यात्रुलाई मंगलबार विहान रुकुम पुर्याइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १५:३५