सूचनाको शक्ति - The Power Of Information

        

जिप र ट्रयाक्टर दुर्घटना तीनजना घाइते

बैतडी । बैतडीका दुई छुट्टाछुट्टै स्थानमा जिप र ट्रयाक्टर दुर्घटना भएको छ। दुर्घटनामा परी तीनजना घाइते भएका छन्।

सोमबार राति करिब नौ बजे देहीमाण्डौंबाट गिरेगडातर्फ गईरहेको म १ ज २२४ नम्बरको जिप दशरथचन्द नगरपालिका-९ भट्टाडमा दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक पञ्चेश्वर गाउँपालिका-५ का २१ वर्षीय नरेश लुहार र सोही ठाउँकी १६ वर्षीया कविता चन्द  घाइते भएका छन्। घाइते दुवैको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

जिपमा चालकसहित १२ जना सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेका छन्। जिप सडकबाट ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक खड्काले बताए

यस्तै‚ मेलौली नगरपालिकाको सु.प.प्र.०२००१ द २५ नम्बरको ट्रयाक्टर शिवनाथ गाउँपालिका-६ ओइला भन्ने स्थानमा सोमबार राति  साँझ साढे ७ बजे दुर्घटनामा परेका छ।

पञ्चेश्वरको आम्चोरबाट मेलौलीतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक मेलौलीका २२ वर्षीय विजयसिंह नायक घाइते भएका छन्। ट्रयाक्टर सडकबाट ५० मिटर तल खसेको बताइएको छ।

बैतडीमा आइतबार मात्रै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु र एकजना घाइते भएका छन्।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार ०९:२७