सूचनाको शक्ति - The Power Of Information

        

जनगणना गर्ने कार्य अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को जनगणना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सोमबारसम्म ८५ देखि ९० प्रतिशतजति जनगणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

गत कात्तिक २५ देखि सुरु भएको जनगणना सोमबारसम्म १२ दिन मुख्य गणना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले सोमबारसम्म मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

सुपरिवेक्षकले नियमितरूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेको उनले बताए । उनका अनुसार केही छिटफुट भए जिल्ला जनगणना, स्थानीय जनगणना कार्यालयबाट सच्याउने काम भइरहेको छ ।

उनले भने, ‘अब जनगणना सम्पन्न हुन दुई दिनमात्र बाँकी भएकाले कोही व्यक्ति जनगणनामा छुटेको भए आफैँले पनि चासो राखेर गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्नुपर्छ ।’ जनगणना सम्पन्न हुँदा नेपालको कुल जनसङ्ख्या तीन करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार ०८:४७