सूचनाको शक्ति - The Power Of Information

        

समाचार

मासिँदै माछाको ‘पकेट क्षेत्र’

बाँके । परम्परागत रूपमा माछापालन गरिँदै आएका बाँके र बर्दियाका ठूला प्राकृतिक ताललाई पर्यटकीयस्थल बनाउँदा माछाको पकेट क्षेत्र मासिँदै गएको छ । माछापालन गरिँदै आएका ताललाई पर्यटकीयस्थल बनाउँदा माछापालन घट्दै गएकाले चालू आर्थिक वर्षबाट बाँके र बर्दियामा २५ प्रतिशत माछा उत्पादन घट्ने जिल्ला पशु ज्ञान कार्यालय नेपालगन्जले जनाएको छ ।

जिल्ला पशु ज्ञान कार्यालय नेपालगन्जका वरिष्ठ मत्स्य विकास अधिकृत बसिर अहमद खाँका अनुसार सरकार र कृषकको परिश्रमपछि माछाको उत्पादन बढ्न थालेका बेला स्थानीय तहले पकेट क्षेत्रकै जलाशयमा माछा उत्पादन बन्द गरी पर्यटकीयस्थल बनाउन सुरु गरेका छन् । सोही कारणले माछा उत्पादनमा समेत प्रभाव परेको र यस वर्षबाट २५ प्रतिशत जति माछा उत्पादन घट्ने उनले बताए ।

जिल्ला पशु ज्ञान कार्यालयका अनुसार बाँके र बर्दियालाई माछा उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ उत्पादन भएको माछा स्थानीय बजारमा मात्र नभई जिल्ला बाहिरसमेत खपत हुँदै आएको छ । मिसन फिस कार्यक्रममार्फत साबिकको कृषि विकास कार्यालयले माछाको उत्पादन बढाउन विभिन्न कार्यक्रम गरेको थियो । बाँकेमा २५ हेक्टर रहेको प्राकृतिक जलाशयमा माछापालन हुँदै आएको थियो ।

१६ हेक्टरको पुरैनी ताल र ६ हेक्टरको वाटर पार्कमा माछा उत्पादन हुँदै आएकोमा यी दुवै तालमा नेपालगन्ज उपमहानगरपालिकाले पर्यटकीयस्थल बनाउँदैछ । प्रदेश सरकारको सहयोगमा पुरैनी ताललाई पर्यटकीयस्थल बनाउने काम सुरु भइसकेको छ । मत्स्य विकास अधिकृत खाँका अनुसार बाँकेमा कुल ३४० हेक्टरमा वार्षिक एक हजार १९६ मेट्रिक टन माछा उत्पादन हुन्छ ।

प्राकृतिक जलाशयमा नयाँ काम सुरु भएपछि चालू आर्थिक वर्षमा स्थानीय तहले माछापालनको ठेक्का दिएका छैनन् । ठेकेदारमार्फत ती प्राकृतिक जलाशयमा माछापालन हुँदै आएको थियो । बर्दियाको अवस्थासमेत बाँकेको जस्तै रहेको उनले बताए । पश्चिमकै सबैभन्दा धेरै माछापालन हुने बढैया ताल प्राकृतिक जलाशयमा यस वर्षदेखि माछा उत्पादन बन्द गरिएको छ ।

बढैयाताल गाउँपालिकाले त्यहाँ पर्यटकीयस्थल निर्माणको काम सुरु गरेको छ । ८४ हेक्टरको बढैयाताल र ४० हेक्टरको सतखलुवा तालमा गत बर्षदेखि माछा उत्पादन नहुने वरिष्ठ मत्स्य विकास अधिकृत खाँले जनाए । बर्दियामा गत वर्ष १५ सय मेट्रिक टन माछा उत्पादन भएको थियो । बढैयाताल गाउँपालिकाका सूचना अधिकारी कमल खड्काले पर्यटकीयस्थलका रूपमा बढैया ताललाई विस्तार गर्न लागिएको बताए ।

उनका अनुसार, अब ‘शो’का रूपमा मात्र गाउँपालिकाले तालमा माछाको भुरा राख्नेछ । ‘पर्यटकीयस्थलका रूपमा यो ठाउँलाई परिचित गराउन जनप्रतिनिधि लाग्नुभएको छ,’ खड्काले भने । पर्यटकीयस्थल बनाउँदा पनि माछापालन बन्द नगर्नु पर्ने वरिष्ठ मत्स्य विकास अधिकृत खाँको भनाइ छ । ‘दुवै काम साथसाथै लैजानु राम्रो हुन्छ,’ उनले भने, ‘प्राकृतिक तालमा माछा उत्पादन बन्द नै गर्ने हो भने आत्मनिर्भर बन्ने हाम्रो योजना तुहिन्छ ।’

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार ०८:११