बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका–४ का वडाबासीले वडाध्यक्ष मोहम्मद सफिक बेहनाको खुलेरै प्रशंसा गरेका छन् । वडा कार्यालयले दिने सेवा प्रवाहदेखि विकास निर्माणका काममा आफुहरु सन्तुष्ट रहेको वडाबासीले बताए ।
वडा कार्यालयको आयोजना भएको एक टेलिभिजन कार्यक्रममा बोल्ने अधिकांश बक्ताले वडाध्यक्षको कामप्रति प्रशंसा गर्दै सुझावसहितको प्रश्न राखेका थिए । कार्यक्रममा वडाध्यक्ष बेहनाले वडाले चालु आवमा गरेका विकास निर्माणको प्रगतिबारे बताएका थिए ।
वडाध्यक्ष बेहनाले संघ, प्रदेश र उपमहानगरपालिकाबाट आएको बजेट कार्यान्वयन भएको बताउँदै चालु आवमा वडा र नगरपालिकाबाट विनियोजन गरिएका विकास योजनाहरु पूर्णरुपले सम्पन्न भएको जानकारी दिए ।
वडाध्यक्ष बेहनाले केन्द्र र प्रदेश सरकारबाट सञ्चालित ठूला योजनाहरु कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । जनताका आवश्यक्ताहरु असिमित रहेको भए पनि वडाको भौगोलिक बनावटले जनताका सबै मागहरुलाई पूरा गर्नेगरी काम गरी रहेको जिकिर गरे ।
उपमहानगरपालिकाभित्र बढी जनसंख्या आफ्नै वडामा भएको भन्दै उनले बाटाघाटा, स्वास्थ्य, शिक्षा, विजुली बत्तीलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र कन्या स्कुल सञ्चालन गर्न सफल भएको उनको भनाई थियो ।
वडाभित्र आउने सेवाग्राहीलाई अधिकांश समय आफैले सेवा दिने र आफु नभएको बेला वडा सदस्यलाई जिम्मेवारी प्रदान गरि जनताको सेवा प्रवाहलाई सहज पारिएको वडाध्यक्ष बेहनाले जिकिर गरे ।
लक्षित बर्गका लागि छुट्याइएको कार्यक्रम प्रभावकारी भएको वडाध्यक्ष बेहनाको भनाई थियो । कार्यक्रममा बोल्ने सेवाग्राहीले फोहर व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका थिए । कार्यक्रममा वडा सदस्य, कर्मचारी र स्थानीय नागरिकको सहभागिता थियो ।
।