सूचनाको शक्ति - The Power Of Information

        

चीनमा ४३ वर्षयताकै न्यून जन्मदर

काठमाडौं । चीनको जन्मदर ४३ वर्षयताकै न्यून देखिएको छ । सन् २०२० मा चीनको जन्मदर अघिल्लो वर्षको तुलनामा १ प्रतिशत घटेको त्यहाँको जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

ठुलो अर्थतन्त्र भएको चीनमा धेरै वर्षदेखि जन्मदर घटिरहेको छ, जुन उसका लागि चुनौती हुन सक्ने बताइएको छ । सन् २०२० मा चीनमा नवजात शिशुको जन्मदर १५ प्रतिशतले झरेको थियो ।

शिशुको जन्मदरमा आएको गिरावटलाई विश्वव्यापी रूपमा देखिएको कोभिड सङ्क्रमणसँग पनि जोडिएको छ । चीनमा सन् २०२० मा कूल १ करोड ३० हजार जनाको जन्म भएको थियो । सन् २०१९ मा यो सङ्ख्या १ करोड १० लाख ७९ हजार थियो ।

देशको जन्मदर वर्षौैंदेखि घटिरहेको छ । उमेरका कारण काम गर्ने जनसङ्ख्याको एउटा समूह सेवानिवृत्त भएसँगै जन्मदरमा देखिएको गिरावटले ठुलो अर्थतन्त्र भएको देश चीनमा दीर्घकालीन असर पार्ने विज्ञहरू बताउँछन् ।

घट्दो जन्मदर रहे पनि मृत्युदरसमेत न्यून हुँदा चीनको जनसङ्ख्या सन् २०१९ मा १.३९ अर्बबाट बढेर १.४ अर्ब पुगेको थियो । सन् १९७९ मा चीनले एउटा मात्र सन्तान जन्माउन पाउने पाउने नीति ल्याएको थियो ।

सन् २०१५ मा सरकारले एक सन्तान नीतिको अन्त्य गरेर दुई सन्तान जन्माउने अनुमति दिएको थियो । तर, त्यो परिवर्तनले देशको घट्दो जन्मदर अन्त्य गर्न सहयोग नगरेको विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार १२:४४