सूचनाको शक्ति - The Power Of Information

        

कुपिण्डे तालमा पानीको सतह बढ्यो

सल्यान । यहाँको चर्चित कुपिण्डे तालमा पानीको सतह ५२ फिट बढेको छ । यहाँको प्रमुख पर्यटकीयस्थल कुपिण्डे ताल आठ वर्षपछि भरिएको हो। ताल संरक्षण र नियमित रूपमा भइरहेको वर्षाले पानीको सतह बढेको बताइएको छ ।

२१ वर्षअघि कैलु वराहको मन्दिरसम्म भरिएको तालको सतह त्यसपछिका वर्षमा घट्दै गएको थियो । ताल पुरिँदै जाँदा ताल वरपरको करिब २०० मिटरभन्दा बढी भागमा पानी थिएन । स्थानीय बासिन्दा कुलबहादुर पुरीले यो वर्ष तालमा करिब ५२ फिट पानीको सतह बढेको बताए ।

कुपिण्डे ताल भरिएर पानीको सतह मन्दिरको छेउसम्म आइपुगेको छ । तालमा पानीको मात्रा बढेसँगै पर्यटकका लागि निर्माण गरिएको प्रतीक्षालयसमेत डुबेको छ । चालक शङ्कर यरीले तालमा पानी भरिएर आकर्षक भएपछि अहिले ताल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको बताए ।

उनका अनुसार अहिले कैलु वराहको मन्दिर पुग्न डुङ्गाको सहायता लिनुपर्दछ । दैनिक करिब एक सय जना आन्तरिक र बाहिरी पर्यटक कुपिण्डे ताल घुम्न आउने गरेको बताइन्छ । पर्यावरणीय, भौगोलिक बनावट आदिले कुपिण्डे ताल आकर्षक रहेको लेखक तथा पत्रकार कृष्णमुरारी भण्डारीले बताए ।

उनले भने, ‘पहिलो पटक घुम्न आउँदा रमाइलो लागेको छ, तालको संरक्षण लगायतका कार्य भए पनि प्रचार– ्रसारको अभाव देखिएको छ ।’ बर्सेनि ताल पुरिँदै जान थालेपछि गत वर्ष डिभिजन वन कार्यालय सल्यानले दक्षिण भागका दुईवटा ठाडो खोलामा गल्छी निर्माण गरी तारजालीमार्फत पानीको रोकथाम गरेको थियो ।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले तालको संरक्षण गर्न यसै वर्ष पनि ताल वरपरका खोलामा तटबन्ध निर्माण, वृक्षरोपण, स्थानीय नागरिकलाई सचेतीकरण गर्ने लगायतका काम भइरहेको बताए । वर्षमा तीन पटक रङ फेर्ने सो ताल २३ दशमलव ५३ हेक्टर क्षेत्रमा फैलिएको छ ।

तालको लम्बाइ ८३४ मिटर, चौडाइ २५० मिटर र गहिराइ ३४ मिटर रहेको छ । ताल घुम्न झण्डै दुई दर्जन डुङ्गा सञ्चालनमा रहेका छन् । ताल घुम्न सुर्खेत, जाजरकोट, दैलेख, बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा, रुकुम लगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेको बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ०९:४१