सूचनाको शक्ति - The Power Of Information

        

उत्खनन नहुँदा बहुमूल्य खानी अलपत्र

जाजरकोट । दुई दशकअघिदेखि नै चर्चामा रहेको यहाँको बारेकोटको फलाम खानी यतिबेला ओझेलमा परेको छ । बारेकोट गाउँपालिका–१, थर्प‘को बाहुनखोला तथा बारेकोट–५, सिलिङ्गीको साउबारीमा रहेको फलाम खानी उत्खनन नहुँदा अलपत्र परेका छन् ।

पहिले बारेकोटमै उत्खनन् प्रशोधन गर्न‘का साथै ओदान, ताबा, सनासा, चिम्टा, कुटो, कोदाली, फरुवा, फाली, हँसिया र बन्चरो लगायतका कृषि औजारहरू बनाइने बारेकोटी फलामको अहिले नाम सुन्न पनि मुस्किल हुन थालेको स्थानीय बासिन्दा बताउँछन् ।

२० वर्षअघि जाजरकोट र जुम्ला जिल्लाका अधिकांश गाउँमा विभिन्न कृषि औजार बनाउन प्रयोग गरिने बारेकोटी फलाम अहिले ओझेलमा मात्र होइन नाम पनि बिर्सिन थालिएको छ । यस्तै जिल्लाको पश्चिममा बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको खानी छ तर उत्खननको व्यवस्था छैन ।

जिल्लाको पश्चिमीमा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ । स्थानीय बासिन्दा मानबहादुर बुढाले कुशे गाउँपालिकाको टालेगाउँ, अछार्नी, छेडागाड नगरपालिकाको पजारु र जुनीचाँदे गाउँपालिकाको दहलगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेको दाबी गरे ।

खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा बर्सेनि करोडौंँ मूल्यको पत्थर चोरी निकासी हुने गरेको छ । अर्छानी, टालेगाउँ, पजारु, पैङ्क, दह, कोर्ताङ, गर्खाकोटलगायत विभिन्न स्थानमा पाइने उक्त बहुमूल्य पत्थरको पटकपटक चोरी निकासी भएको उनको भनाइ छ ।

उनले स्थानीय बजारमा उक्त पत्थर प्रतिकिलोको एक हजारदेखि ३० हजार रुपैयाँसम्म बिक्री हुने बताए । खानी आसपासमा १५० देखि एक हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको छ । साबिकका टालेगाउँ, अर्छानी, दह र कोर्ताङ गाविसबाट मात्र वार्षिक १० टनभन्दा बढी टुर्मालिन तथा काइनाइट चोरी निकासी भएको बताइन्छ ।

बाह्य बजारमा प्रतिकिलोको १५ हजारदेखि ८० हजार रुपैयाँसम्मको मूल्यमा काइनाइटको व्यापार हुने व्यापारी बताउँछन् । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले विश्व बजारमा बहुमूल्य काइनाइट, क्वार्ज, टुर्मालिन लगायतका पत्थर जाजरकोटबाट निकासी गर्न सके यहाँका नागरिकको जीवनस्तरमा सुधार आउने दाबी गरे ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ०९:३६