हुम्ला । कात्तिक महिनाको अन्तिममा उत्तरी नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीको सीमा सुरक्षा प्रहरी चौकी बन्द भएको छ । मुद्दा पनि कम हुने र अत्यधिक चिसो बढेकाले प्रहरी चौकी बन्द गरेर सो चौकीमा कार्यरत सबै प्रहरी सदरमुकाम सिमकोटको जिल्ला प्रहरी कार्यालयमा फिर्ता भएको बताइएको छ ।
वडाध्यक्ष पाल्जोर तामाङले लिमीको प्रहरी चौकी बन्द भएको र कार्यरत प्रहरी सदरमुकाम सिमकोट फिर्ता भएको जानकारी दिए । गत जेठ महिनामा प्रहरीहरू लिमीको सीमा चौकीमा पुगेका थिए । लिमीमा खटिएका प्रहरी पाँच÷छ महिना मात्र बस्ने बताउँदै वडाध्यक्ष तामाङले चिसोमा बस्न कठिन हुने भएकाले उनीहरू चौकी बन्द गरेर जिल्लामा हिँडेको बताए ।
प्रहरी निरीक्षक दानबहादुर भण्डारीले खासै मुद्दा पनि नपर्ने र चिसोमा काम गर्न पनि प्रहरीलाई कठिन हुने भएकाले चौकी छ महिनाका लागि बन्द गरेर जिल्लामा आएको बताए । विगत केही वर्षयता लिमी प्रहरी चौकीमा उजुरी नै नपरेको बताइएको छ । चौकीमा बस्ने प्रहरीलाई खाद्यान्न व्यवस्थापन गर्न पनि चिसोमा कठिन हुने जनाइएको छ ।
२३ जनाको दरबन्दी भएको प्रहरी चौकीका लागि हाल नौ जना मात्र कार्यरत छन् । जिल्ला प्रहरी कार्यालयले उजुरी नपर्ने र प्रहरीले गस्ती मात्र गर्नुपर्ने भए पनि दरबन्दीअनुसार प्रहरीलाई खटाउन नसकिएको जनाएको छ । अब बन्द रहेको प्रहरी चौकीमा आगामी वैशाख, जेठ महिनामा मात्र लिमी जाने बाटो खुलेपछि कार्यरत प्रहरी फर्कने छन् । यो अवधिमा लिमी प्रहरी चौकीका प्रहरीले जिल्लामै बसेर काम गर्ने व्यवस्था छ ।
।