सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

काँग्रेसको १४औँ महाधिवेशन : बाँकेमा देउवा पक्षको वर्चस्व

बाँके । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँके जिल्लामा भएको पार्टीका विभिन्न तहहरूको निर्वाचनमा केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको वर्चस्व देखिएको छ ।

जिल्लाका आठ वटा पालिकामध्ये पाँच वटामा देउवा पक्षको पूरै प्यानल विजयी भएको छ भने तीन वटा पालिकामा पौडेल समूहको प्यानल विजयी भएको छ । नेपालगन्ज उपमहानगर, जानकी गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी र वैजनाथ गाउँपालिकामा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् ।

कोहलपुर नगरपालिका तथा नरैनापुर र डुडुवा गाउँपालिकामा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । पालिकाको निर्वाचनमा संस्थापन पक्षबाट पूरै प्यानलसहित विजयी हुनेहरूमा नेपालगन्ज उपमहानगरबाट प्रशान्त विष्ट, जानकी गाउँपालिकाबाट जयराम यादव, खजुरा गाउँपालिकाबाट रमेश सिजाली, राप्तीसोनारीबाट भीमबहादुर राना र वैजनाथ गाउँपालिकाबाट देवबहादुर खत्री रहेका छन् ।

संस्थापन इतर पक्षबाट विजयी हुनेहरूमा नरैनापुरबाट मरोज आहमद खाँ, डुडुवाबाट विजयकुमार यादव र कोहलपुरबाट वीरेन्द्र शाह प्यानलसहित विजयी भएका हुन् । काँग्रेसका युवा कार्यकर्ता अनुप बर्माले जिल्ला सभापतिका लागि देउवा पक्षबाटै आकाङ्क्षी बढी देखिएको बताए । जिल्ला सभापतिका लागि देउवा पक्षका राजकुमार बर्मा, बादशाह कुर्मी र निरन्जनसिंह सिजापतिले उम्मेदवारी दिने भएका छन् ।

कोइराला र पौडेल पक्षबाट लक्ष्मीनारायण शाह र नारायण गौडेलले उम्मेदवारी दिने तयारी गरेका छन् । निर्मला कुर्मी र नन्कन्नी धोबी प्रकरणले गर्दा बादशाह कुर्मीविरुद्ध अदालतमा मुद्दा चलिरहेकाले संस्थापन पक्षबाट राजकुमार वर्मा नै सबैभन्दा बलियो उम्मेदवार देखिएको काँग्रेसका नेता कार्यकर्ताले बताएका छन् । निरन्जनसिंह सिजापतिको पनि सम्भावना बलियो रहेको जनाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ०७:५९