सूचनाको शक्ति - The Power Of Information

        

समाचार

शिक्षामा फड्को मार्दै नरैनापुर

बाँके । सडक यातायात र विद्युत्को अभावमा निकै पिछडिएको बाँकेको नरैनापुर गाउँपालिकाले अहिले शिक्षामा उल्लेख्य फड्को मारेको छ । नरैनापुरमा विद्यालयको अभाव र गुणस्तरीय शिक्षाको व्यवस्था थिएन ।

केही वर्ष पहिलेसम्म उक्त क्षेत्रका अधिकांश बालबालिका नेपालगन्ज र सीमापारि भारतीय विद्यालयमा पढ्न जाने बाध्यता अहिले अन्त्य भएको छ । स्थानीय तहका जनप्रतिनिधिको प्रयासले अहिले उक्त क्षेत्रको शैक्षिक अवस्थामा निकै सुधार आएको नरैनापुर–४ का दिनेश शर्माले बताए ।

उनले एसईई उत्तीर्ण गरेलगत्तै यस क्षेत्रका विद्यार्थीलाई जिल्ला सदरमुकाम नेपालगन्ज वा भारतीय कलेज धाउनुपर्ने बाध्यता समाप्त भएको बताए । अहिले विभिन्न वडा र गाउँगाउँमा विद्यालय सञ्चालनमा रहेको र नरैनापुर–६, गङ्गापुरस्थित जयकिसान माध्यमिक विद्यालयले कक्षा ११ को पढाइसमेत सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले अहिले गाउँगाउँमा विद्यालय सञ्चालन भएको र पर्याप्त शिक्षकसमेत रहेको बताए । गाउँपालिकाले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको शिक्षामा जोड दिएपछि अभिभावकले छोराछोरीलाई सामुदायिक विद्यालयमा पठाउन थालेको अध्यक्ष शाहको भनाइ छ ।

गाउँपालिकामा तीन मावि, एक आधारभूत र १७ प्राथमिक विद्यालय गरेर २१ वटा विद्यालय सञ्चालनमा छन् । कक्षा ५ सम्म पढाइ हुने एकसहित कक्षा ३ सम्म पढाइ हुने २५ मदरसा गरी २६ मदरसा नरैनापुरमा रहेको शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले बताए ।

उनले अहिले पालिकाका अधिकांश बालबालिका आफ्नै देशको विद्यालयमा पढ्न जाने गरेको बताए । केही समयअघिसम्म शिक्षा, स्वास्थ्य, सडक, बत्ती, सिँचाइ र सचेतनामा कमी भएकै कारण नरैनापुरलाई बाँकेको कर्णाली भनिन्थ्यो तर अहिले सो क्षेत्रमा कालोपत्रे सडक, विद्युत्, अस्पताल र विद्यालय सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ०७:५७