सूचनाको शक्ति - The Power Of Information

        

समाचार

लाइसेन्समा सेटिङ, इन्सपेक्टरदेखि यातायात प्रमुखसम्मको मिलेमतो

फाइल तस्वीर

बाँके । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा खुलेआम रुपमा सेटिङमा लाइसेन्सको खरिद बिक्री हुन थालेको छ । ८ हजारदेखि ५० हजारसम्म लिएर ट्रायलमा फेल भएकालाई पनि उत्तिर्ण गराउन थालिएको छ ।

यातायात व्यवस्था कार्यालयका प्रमुख पुरुषोत्तम पौडेल र जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख इन्स्पेक्टर ऐनबहादुर मल्लको मिलेमतोमा सेटिङ सुरु भएको हो । बाँकेमा हाल दैनिक मोटरसाइकलको १ हजार ५०० तथा गाडीको ४०० ट्रायल हुने गरेको छ ।

दैनिक २०० जनासम्मलाई सेटिङमा पास गराउने गरिएको स्रोत बताउँछ । कोहलपुरस्थित ड्राइभिङ सेन्टरका सञ्चालक माधव ज्ञवालीमार्फत यसरी सेटिङ हुने गरेको हो । यातायात कार्यालयका अर्का कर्मचारी केशब घिमिरेसमेत यसमा मिलेका छन् ।

यसअघि पनि लाइसेन्स बिक्रिको आरोपमा यहाँका १४ जना कर्मचारी कारबाहीमा परेका थिए । अहिले लाइसेन्सको ट्रायल खुलेलगत्तै फेरि सेटिङमा धन्दा सुरु भएको छ । यसमा इन्सपेक्टरको मल्लको पनि चासो छ ।

रकम बुझाएर गत महिनामात्र बाँके गएका उनी खर्च उठाउन भन्दै पछिल्लो समय सेटिङमा लागेका छन् । आफ्ना विश्वासपात्र ट्राफिकलाई मात्र उनले ट्रायलमा पठाउने गरेको स्रोत बताउँछ ।

हालै डिएसपीमा बढुवा सिफारिस भएका एक हप्तामात्र बाँकेमा बस्न पाउने भएकाले यही अवधिमा उनले सेटिङ धन्दा सुरु गरेका हुन् । अख्तियारलाई समेत छल्ने गरी यस्तो धन्दा चलेको छ । (दृष्टि न्यूज)

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ०७:४३