सूचनाको शक्ति - The Power Of Information

        

चार महिनामै लुम्बिनी प्रदेशका डीआईजीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यको सरुवा गरेको छ ।

आचार्यलाई चार महिनामै हटाइएको छ । उनले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमाण्ड लिएका थिए । लुम्बिनीमा डीआईजी प्रकाश अधिकारीलाई सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले बताए ।

आचार्यलाई भने लागु औषध नियन्त्रण ब्यूरोमा सरुवा गरिएको छ । आचार्यको कार्यसम्पादन कमजोर देखिएको प्रहरी प्रधान कार्यालयले गरेको छानबिनबाट देखिएको छ ।

आचार्यले गलत नियत राखेर कारबाही गरेपछि तत्कालीन ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्स्पेक्टर कपिल वाग्लेले मृत्यु रोजेको आरोप छ ।

साउन २५ मा मोटरसाइकलमा ठोक्किएर वाग्लेको मृत्यु भएको थियो । आईजीपीको सचिवालयमा कार्यरत डीआईजी वसन्त कुमार लामालाई प्रबन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतवार ०८:३१