बाँके । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका आठ वटै पालिकामा अधिवेशन सम्पन्न भएका छन् ।
नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन सम्पन्न भएको हो । चार वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन हुँदा अन्य चार पालिकामा भने प्यानलगत प्रतिष्पर्धा भएको थियो ।
कति पालिकामा संस्थापन र संस्थापन इतर समूहका उम्मेदवार प्यानलसहित चुनावी प्रतिष्पर्धामा थिए भने कति पालिकामा त संस्थापन समूहकै उम्मेदवारबीच पनि प्रतिष्पर्धा भएको छ ।
आठ वटा पालिकामध्ये ५ वटामा संस्थापन समूहका उम्मेदवार निर्वाचित हुँदा ३ वटा पालिकामा संस्थपान इतर समूहका उम्मेदवार विजयी भएका छन् ।
नेपालगञ्ज उपमहानगरापालिका सभापतिमा संस्थापन समूहका प्रशान्त विष्टसहित उनको प्यानल नै विजयी भयो । यहाँ संस्थापनकै दुई र इतर समूहबीच त्रिपक्षीय प्रतिष्पर्धा भएको थियो ।
कोहलपुर नगरापालिकामा भने पूरै प्यानल संस्थापन इतरबाट विजयी भएको छ । नगर सभापति विरेन्द्रकुमार शाहसहित सबै पदमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भए ।
राप्तीसोनारीमा भने संस्थापन समूहका भीमबहादुर राना क्षेत्रीसहित पूरै प्यानल विजयी भयो । बैजनाथमा पनि संस्थापन समूहबीच नै प्रतिष्पर्धा हुँदा सभापतिमा संस्थापन समूहका देवबहादुर खत्री केसीसहित उनको प्यानल नै निर्वाचित भयो ।
खजुरामा सर्वसम्मतरुपमा रमेश सिजाली सभापति चुनिए । उनी पनि संस्थापन समूहकै हुन् । जानकीमा पनि संस्थापन समूहकै जयराम यादव सर्वसम्मत सभापति चुनिए ।
नरैनापुर र डुडुवामा भने संस्थापन इतर समूहका क्रमशः मेराज अहमद खाँ र विजय कुमार यादव संस्थापन इतर समूहबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपालगञ्ज, राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकीमा संस्थापन समूह विजयी हुँदा कोहलपुर, डुडुवा र नरैनापुरमा संस्थापन इतरले जितेको छ ।
।