सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा ढुंगामुढा, सूचना पाटी फुट्यो

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ढुंगामुढा भएको छ । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तगत पालिकास्तरीय निर्वाचनका क्रममा गाउँपालिकाको कार्यालयमा ढुंगामुढा भएको हो । ढुंगामुढाबाट गाउँपालिकाको सूचना पाटी फुटेको गाउँपालिकाका कर्मचारी चेतबहादुर बोहोराले जानकारी दिए ।

पालिकास्तरीय निर्वाचनमा सहभागी एक समूहले मतदान सम्पन्न भइसकेपछि पालिकाको कार्यालय र मतपेटिका राखेको स्थल राप्तीसोनारी गाउँपालिकाको ठुलो सभाहलमा ढुंगामुढा गरेको प्रहरी चौकी अगैयाका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिए । उनका अनुसार ढुंगामुढा गर्ने समुहको पहिचान हुन नसकेको छैन ।

मत पेटिका राखिएको सभाहलको टिनमा अज्ञात समुहले ढुंगा प्रहार गरेको राप्तीसोनारीका मतदान अधिकृत प्रेम शर्माले जानकारी दिए । ‘हामी मत पेटिकाको सुरक्षा दिएर बसिरहेका थियौं, कसैले टाढैबाट ढुंगा हानेपछि केहीबेर गड्याङ्ग गुडुङ्गको आवाज आयो,’ चारैतिर खोज्दा कसैलाई पनि फेला पार्न सकेनौं,’ उनले भने ।

बिहीबार मतदान केन्द्रका विषयमा सामान्य विवादपछि साढे ३ बजेमात्रै मतदान सुरु सकिएको थियो । मतदान सकिएलगत्तै मतपेटिका कहाँ राख्ने सम्बन्धमा पुनः विवाद सिर्जना भएको थियो । १७४ मतदातामध्ये १७३ मत खसेको मतदान अधिकृत शर्माले जानकारी दिए । राप्तीसोनारीमा पालिका सभापतिका लागि संस्थापन (देउवा) पक्षबाट भीमबहादुर रानाक्षेत्री र संस्थापन इतर (कोइराला–पौडेल) पक्षबाट तुलाराम खत्री चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १३:१६