सूचनाको शक्ति - The Power Of Information

        

कानून व्यवसायी र प्रहरीबीचको घम्साघम्सी, दुई वकिल घाइते, सर्वोच्च परिसरमै कोणसभा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । बिहीबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले रोक्दा घम्साघम्सी भएको हो ।

प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानून व्यवसायीलाई प्रहरीले रोकेको छ । कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिको छ ।

काठमाडौँ उपत्यकाका सबै अदालतस्थित बार एकाइका कानून व्यवसायीहरू आ–आफ्ना ब्यानर लिएर बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भइसकेका छन् । हिजोसम्म प्रधानन्यायाधीशको मात्रै राजीनामा मागेका कानून व्यवसायीले आजबाट सर्वोच्चको रजिष्टारको पनि राजीनामा माग गरेका छन् ।

उनीहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका छन् । सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट थप दुईजना वकिल घाइतेसमेत भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीको लाठी प्रहारबाट आज सर्वोच्च बारका पूर्वसदस्य लक्ष्मी पोखरेल र उच्च अदालत बारका पूर्वसदस्य पवित्रा तिवारी घाइते भएको जनाइएको छ । आन्दोलनरत कानुन व्यवसायीले आज सर्वोच्च अदालत परिसरमै कोणसभा गरेका छन् ।

यसअघि, सर्वोच्च परिसरमा धर्ना र नेपाल बार एसोसिएसन परिसरमा कोणसभा गर्दै आएका थिए । नेपाल बारको अगुवाइमा प्रधानन्यायाधीशको राजीनामा माग्दै वकिलहरू आन्दोलनरत छन् । बिहीबार पनि सर्वोच्च परिसरमा प्रदर्शनमा उत्रिएका वकिलहरूमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसक्रममा केही वकिलहरू घाइते भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १२:४२