बाँके । जानकी गाउँपालिकास्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । आजदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुने गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए ।
उनका अनुसार पुरानो मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन् । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछन् । ऐतिहासिक मेलाको संरक्षणका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको छ ।
गुरुवागाउँ मेलामा किसानले भेडा जुधाउने प्रतिस्पर्धासमेत गर्ने गर्दछन् । कोरोना महामारीलाई मध्यनजर गर्दै धेरै भीडभाड हुने नौटङ्की नाच यस वर्ष पनि सञ्चालन नगरिने गुरुवागाउँ मेला व्यवस्थापन समितिका अध्यक्ष तीर्थराम कुर्मीले जानकारी दिए । उनका अनुसार मेलामा रामलीला भने सञ्चालन गरिनेछ ।
मेलास्थलमा मदिराजन्य पसल बेलुका ७ बजे अनिवार्य बन्द गर्नुपर्ने, जुवातासजन्य क्रियाकलाप सञ्चालन गर्न नपाइने तथा मेला राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जानकी गाउँ कार्यापालिका बैठकले निर्णय गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष धितालले जानकारी दिएकी छन् ।
यसैबीच कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्तीको सिधनिया घाटमा पनि मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्ती नदीमा स्नान गरी दान दिने र पूजाआजा गर्नेको बिहानैदेखि ठूलो भीड लागेको छ । कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् । गौदान गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
।