सूचनाको शक्ति - The Power Of Information

        

सुत्केरी व्यथा लागेकी महिला १४ घण्टासम्म स्ट्रेचरमै !

फाइल तस्वीर

हुम्ला । जिल्लाका अधिकांश गाउँबस्तीमा मानिस बिरामी हुँदा अझै पनि स्ट्रेचरकै भरमा अस्पताल पुर्याउनुपर्ने बाध्यता छ । ती गाउँमा हालसम्म सडक सञ्जाल नजोडिँदा बिरामीलाई स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता रहेको हो ।

सर्केगार्ड गाउँपालिका–३, उनपानी गाउँका स्थानीय जयबहादुर महताराले गाउँमा मानिस बिरामी पर्दा डेढ घण्टा पैदल स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकीमा पुर्याइने गरेको बताए । उनले गाउँमा स्ट्रेचर पनि थोरै भएकाले धेरै बिरामी भए आवश्यकताअनुसार बिरामीलाई बोकेरै अस्पताल पुर्याउनुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

दुई दिनअघि सुत्केरी व्यथा लागेकी महिलालाई १४ घण्टा स्ट्रेचरमा बोकेर प्रसूतिगृह पुर्याइएको जानकारी उनले दिए । चङ्खेली गाउँपालिका–३, मिमीगाउँका धनलाल चौलागाईंले पनि तीन घण्टा लगाएर स्ट्रेचरमा बोकेर बिरामी स्वास्थ्यचौकी ल्याइएको बताए ।

गाउँमा सडक निर्माण भए पनि लोती कर्णालीमा पुल नबन्दा र गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीलाई स्ट्रेचरमा बोक्नुको विकल्प नभएको उनले बताए । यो समस्या यी दुई गाउँपालिकाको मात्र नभएर जिल्लाका सातवटै गाउँपालिकामा छ ।

स्वास्थ्य सेवा कार्यालयका वरिष्ठ अनमी सरिता बोहराले सडक सञ्जाल नजोडिएका कारण गाउँबाट बिरामी ल्याउन स्ट्रेचर नै भरपर्दो माध्यम भएको बताइन् । स्वास्थ्य सेवा कार्यालय, गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाबाट स्ट्रेचर सहयोग गाउँगाउँमा पुगेका कारण बिरामी बोक्न भने सहज भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०९:४०