काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रियसभाको २० सदस्य पदका लागि आगामी माघ १२ गते निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सो जानकारी दिएका हुन् । आगामी फागुन २० गते राष्ट्रियसभाका २० सदस्यको पद रिक्त हुँदैछ ।
नेपालको संविधानले राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । सोही प्रावधानअनुसार मन्त्रिपरिषद्ले निर्वाचनको मिति तय गरेको हो । संविधानको धारा ८६ मा राष्ट्रियसभा गठनसम्बन्धी व्यवस्थामा कुल ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यहरूको पदावधि ६ वर्षको हुने उल्लेख छ ।
पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने गर्दछ भने एक तिहाइको पदावधि चार वर्ष हुने व्यवस्था छ । सोही प्रावधानअनुसार २० जना सांसदको चार वर्षे कार्यकाल फागुन २० मा सकिन लागेको हो ।
नेकपा (एमाले)का ८, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका ४ र नेपाली काँग्रेसका ३ जना सांसदको राष्ट्रियसभा सदस्यको पदावधि सकिन लागेको हो । ४ वर्षे कार्यकाल सकिन लागेका एमालेका नैनकला ओझा, परशुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा, चक्रप्रसाद स्नेही, सुमनराज प्याकुरेल, कोमल वली, रामलखन चमार र कविता बोगटी हुन् ।
यस्तै माओवादी केन्द्रका शशीकला दाहाल (राष्ट्रियसभा उपाध्यक्ष), खिमकुमार विक, दिनानाथ शर्मा (दलको नेता), जीवन बुढा र रामनारायण विडारी (मनोनीत)को ४ वर्षे पदावधि सकिन लागेको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, शेरबहादुर कँुवर र खगेन्द्रप्रकाश पुरीको ४ वर्षे कार्यकाल सकिँदैछ ।
त्यसैगरी नेपाली काँग्रेसका राधेश्याम अधिकारी (दलको नेता), दृगनारायण पाण्डे र तारादेवी भट्टको पनि पदावधि सकिँदैछ । २ वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद २०७६ मा बिदा भएका थिए । उनीहरूको ठाउँमा ६ वर्षका लागि १९ जना निर्वाचित भएर आएका थिए ।
।