सूचनाको शक्ति - The Power Of Information

        

उद्दारपछि अफगानिस्तानको महिला फुटबल टोली बेलायतमा

बीबीसी । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि उद्धार गरिएका महिला फुटबल टोलीका खेलाडीहरु बेलायत पुगेका छन् । बीबीसीका अनुसार १३ देखि १९ वर्ष उमेर समूहका उनीहरु बिहीबार पाकिस्तानबाट बेलायत पुगेका हुन् ।

विभिन्न संघसंस्था र मानिसहरुको सहयोगमा उनीहरुको उद्धार गरिएको हो । अफगानिस्तानको राष्ट्रिय महिला टोलीकी पूर्व प्रशिक्षक खलिदा पोपलले उनीहरु बेलायत पुगेकोमा खुसी व्यक्त गरिन् ।

अब उनीहरुले पूर्ण स्वतन्त्रतासहित आफ्नो नयाँ जीवन सुरु गर्न सक्ने उनको भनाइ छ । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि यी फुटबल खेलाडीका परिवारलाई ज्यान मार्ने धम्की आएको थियो ।

यसअघि गत अगष्टको अन्तिममा पाकिस्तानले उनीहरुलाइ अस्थायी भिसा दिने निर्णय गरेको थियो । त्यसपछि बेलायतको सरकारले उनीहरुको भिसा स्वीकृत गर्ने निर्णय गरेको हो । उनीहरुले अब नयाँ जीवन पाएको र पहिलो लक्ष्य हासिल गरेको पूर्व प्रशिक्षक पोपल बताउँछिन् ।

अब उनीहरुको फुटबल करियरबारे पनि सोच्नुपर्ने बेला आएको उनको भनाइ छ । यसअघि नै सिनियर महिला टोलीका खेलाडीलाई अष्ट्रेलियाले उद्धार गरेको थियो । अफगानिस्तानमा अझै पनि धेरै महिला खेलाडी सन्त्रासमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०९:१४