सूचनाको शक्ति - The Power Of Information

        

भारतले बाटो नदिएपछि छाङरु र तिंकरको जोखिमपूर्ण यात्रामा जनगणना टोली

फाइल तस्वीर

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु र तिंकर जान भारतले आफ्नो बाटो प्रयोग गर्न नदिने भएपछि जनगणनाका लागि खटिएको नेपाली टोली जोखिम मोलेर त्यहाँ जानुपर्ने भएको छ । भारतले आफ्नो भूमिको बाटो प्रयोग गर्न नदिएकाले नेपाली भूमिकै जोखिमपूर्ण बाटो भएर शुक्रबार जनगणना टोली तिंकर र छाङरुका लागि प्रस्थान गर्ने जनगणना कार्यालय (दार्चुला)का प्रमुख पदमराज पाण्डेले बताए ।

‘भारतसँग अनुमति मागेका थियौँ । तर, कहिले केही कहिले केही बहाना झिकेर गणकलाई जान भारतले अनुमति दिएन,’ उनले भने, ‘त्यसैले अब नेपाली बाटो नै प्रयोग गरेर जनगणनाका लागि टोली पठाउँदैछौँ ।’ स्थानीयका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट नेपाली बाटो भएर छाङरु र तिंकर पुग्न सजिलो भने छैन । खलंगाबाट तिंकर र छाङरु पुग्ने बाटो बिग्रिएको र निकै जोखिमपूर्ण रहेको छ ।

जनगणनाका लागि नेपाली भूमिको बाटो प्रयोग गरेर हिँडेरै जोखिमपूर्ण पैदल यात्रामा टोली तिंकर र छाङरु जाने प्रमुख पाण्डे बताउँछन् । ‘हाम्रोतिरको बाटो बिग्रिएकोले भारतको बाटो प्रयोग गर्न खोजेका थियौँ । तर, भारतले अनुमति नदिएपछि आफ्नै बाटोबाट जोखिमपूर्ण पैदल यात्रामा जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘तिंकर र छाङरु पुग्न नेपाली बाटोबाट हिँडेर ३ दिन लाग्छ । भारतको बाटोबाट एक दिनमै पुगिन्छ ।’

उनका अनुसार जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकृतसहित गणक र कार्यालय सहयोगी गरी ३ जनाको टोली जनगणनाका लागि छाङरु र तिंकर जाँदैछ । ‘दुम्लिङसम्मको बाटो ठिक छ । त्यहाँ गणकहरु पुगेका पनि छन् । तर, त्यहाँबाट माथि बाटो निकै बिग्रिएको छ भन्ने कुरा आएको छ,’ प्रमुख पाण्डेले भने, ‘दुम्लिङबाट छाङरु पुग्न १ दिन लाग्छ । त्यसबीच गाउँ नै छैनन् ।’

२५ कात्तिकदेखि देशभर जनगणना सुरु भए पनि भारतीय पक्षले गणक जान बाटो प्रयोगको अनुमति नदिँदा व्याँस गाउँपालिका–१ स्थित तिंकर र छाङरुमा भने जनगणना सुरु हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय दार्चुलाले २५ कात्तिक र ३० कात्तिकमा जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो । तर, भारतीय प्रशासनले भने बाटो बिग्रिएको बहाना झिक्दै अनुमति दिन आनाकानी गरेको छ ।

अन्य मानिसलाई ओहोरदोहोरका लागि अनुमति दिने गरेको भए पनि जनगणनामा अवरोध सृजना गर्न भारतीय पक्षले गणकलाई अनुमति नदिएको व्याँस गाउँपालिका–२ का एक स्थानीयले बताए । ‘अन्य मानिसहरु अनुमति पाएर ओहोरदोहोर गरिरहेका छन्,’ ती स्थानीयले भने, ‘बाटो बिग्रिएको बहाना झिकेर जनगणना हुन नदिन भारतीय प्रशासनले अनुमति नदिएको हो ।’

भारतीय अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा चेकजाँच तथा आवातजावतमा कडाइ गर्नुका साथै बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएको उनी बताउँछन् । व्याँस गाउँपालिका–१ स्थित कुटी, नाभी र गुञ्जी भारतीय अतिक्रमणमा छन् ।

ती गाउँसँगै जोडिएका तिंकर र छाङरुमा नेपालको प्रशासनिक अधिकार कायमै छ । तर, ती बस्तीसम्म पुग्न नेपाली भूमिमा बाटो नहुँदा त्यहाँका स्थानीय बासिन्दामा सरकारको पहुँच पुग्न सकेको छैन । तिंकर र छाङरुमा १२३ परिवारको बसोबास छ । तिंकर र छाङरुमा पहिलो चरणको सुपरिवेक्षण मात्रै हुन सकेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०९:०५