सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

कांग्रेसको १४ औँ महाधिवेशन : आजदेखि प्रदेशसभा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ । महाधिवेशन अन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि कांग्रेसले प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु गर्न लागेको हो ।

कांग्रेसले देशैभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिबारका लागि क्षेत्रीय अधिवेशनको कार्यतालिका निर्धारण गरेको छ । शनिबारका लागि प्रदेशसभा क्षेत्रीय अधिवेशन तालिका तय गरिएको भए पनि सोमबारसम्म अधिवेशन गरिसक्नुपर्ने हुन्छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ । यस्तै मंसिर २४–२६ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

कांग्रेसले शुक्रबार देशभरका प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने कार्यतालिका बनाए पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवामा अधिवेशन नहुने भएको छ । तीन वटै जिल्लामा वडा र गाउँपालिका तहमा विवाद कायमै रहेका कारण प्रदेशसभा क्षेत्रीय अधिवेशन नहुने भएको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विवादित जिल्लाबाहेक अन्य ठाउँमा शुक्रबार प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने जनाएको छ । प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रदेशसभा क्षेत्रीय सम्मेलन गठन गर्ने प्रयोजनका लागि कांग्रेसले प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रलाई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रदेश सभा क्षेत्रीय सम्मेलनको क्षेत्र मानेको छ ।

प्रदेशसभा क्षेत्रीय कार्यसमिति कस्तो हुन्छ ?

प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचित हुने छन् । कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिने व्यवस्था कांग्रेसले विधानमा गरेको छ ।

प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट विजयी सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनित गर्न पाउने छन् । यसरी जनसंख्याका आधारमा प्रदेशसभा निर्वाचन समिति २७ सदस्यीय वा त्योभन्दा केही तलमाथि हुनेछ ।

कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको सदस्य प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिको उम्मेदवार बन्न सक्नेछ । अधिवेशनले कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।

मातहतका गाउँपालिका र नगरपालिकाका सभापतिहरु कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमितिका पदेन सदस्य रहने छन् । मातहतका वडा कार्यसमितिका सभापतिलाई कार्यसमितिको बैठकमा आवश्यकताअनुसार आमन्त्रण गर्न सकिने व्यवस्था विधानमा छ । विधानमा प्रदेशसभा क्षेत्रीय कार्यसमितिको बैठक प्रत्येक महिनामा कम्तीमा एक पटक बस्ने उल्लेख छ ।

यी हुन् प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरु

(क) प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेशसभा क्षेत्रीय प्रतिनिधि ।

(ख) प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिका सभापति र वडा कार्यसमितिका सभापति ।

(ग) उक्त क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, संघीय संसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवार ।

(घ) गाउँ/नगर/उपमहानगर/महानगर अधिवेशनबाट निर्वाचित अपांगता भएका प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिको काम, कर्तव्य र अधिकार

(क) प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय सम्मेलन र माथिल्लो निकायको निर्णय र निर्देशन कार्यान्वयन गर्ने, गराउने ।

(ख) आफू मातहतका गाउँपालिका र नगरपालिका कार्यसमितिबाट स्वीकृत नेपाली कांग्रेसको क्रियाशील सदस्यताको प्राप्त विवरणको अभिलेख राखी माथिल्लो निकायमा विवरण पठाउने ।

(ग) विधानबमोजिमको योग्यता पुगेका नेपाली कांग्रेसको क्रियाशील सदस्यको सदस्यता नवीकरण गर्नका लागि मातहत निकायबाट प्राप्त सिफारिस रायसहित माथिल्लो निकायमा पठाउने ।

(घ) प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गतका नगरपालिका, गाउँपालिका र मातहतका कार्यसमितिलाई परिचालन र समन्वय गरी आवश्यक निर्देशन दिने ।

(ङ) प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका मतदाताको विवरण राख्ने, अद्यावधिक गर्ने, मतदाता नामावलीमा थपघट गर्नुपर्ने कार्य गर्ने गराउने ।

(च) निर्वाचनको समयमा निर्वाचन तथा मतदानसँग सम्बन्धित आवश्यक व्यवस्थापन गर्ने र निर्वाचनको समग्र मूल्यांकन र समीक्षा गरी माथिल्लो निकायमा प्रतिवेदन पठाउने ।

(छ) प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका मतदातासँग निरन्तर सम्पर्क, संवाद र सहयोग गर्ने तथा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने गराउने ।

(ज) आफ्नो क्षेत्रभित्रका विकास निर्माणका कार्यको अनुगमन, मूल्यांकन गर्ने र विकास निर्माणका कामलाई सम्पन्न गर्नका लागि पार्टीका तर्फबाट आवश्यक कार्य गर्ने, गराउने ।

(झ) आफू मातहतका नगरपालिका कार्यसमिति, गाउँपालिका कार्यसमिति र वडा कार्यसमिति, टोल कार्यसमितिलाई सक्रिय बनाउन आवश्यक निर्देशन र समन्वय गर्ने ।

(ञ) कम्तिमा प्रत्येक दुई महिनामा प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका नेपाली कांग्रेसका सदस्यको भेला र अन्तरक्रियात्मक कार्यक्रम गर्ने ।

(ट) पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्ने र सो कार्यका लागि पार्टीको तर्फबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभाका सदस्य र उम्मेदवार प्रदेशसभा क्षेत्रीय कार्यसमितिबीच प्रत्येक महिनामा कम्तिमा एक पटक बैठक बसी छलफल, परामर्श र आवश्यक निर्णय गर्ने ।

(ठ) नागरिकका हितसँग सम्बन्धित कार्यक्रम समय–समयमा अभियानका रुपमा सञ्चालन गर्ने, गराउने ।

(ड) सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधिको व्यापक प्रचार–प्रसार गर्न आवश्यक कार्य गर्ने, गराउने ।

(ढ) पार्टीद्वारा वर्षभर सञ्चालन हुने विविध कार्यक्रमको वार्षिक क्यालेन्डर बनाएर सोही अनुसार कार्य गर्ने, गराउने ।

(ण) आवश्यकताअनुसार विभिन्न समिति, उपसमिति गठन गर्ने ।

(त) धारा ३२ बमोजिम मातहत निकायबाट प्राप्त रायसहित पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस र निर्णय गर्ने (विधानको धारा ३२ मा उम्मेदवारीको सिफारिस, निर्णय र अनुमोदनसम्बन्धी व्यवस्था गरिएको छ) ।

(थ) पार्टीको हितमा तोकिए बमोजिमका अन्य आवश्यक कार्य गर्ने, गराउने ।

कांग्रेसले २१ हिमाली जिल्लामध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, कालिकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा र म्याग्दीमा जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०८:५७