सूचनाको शक्ति - The Power Of Information

        

समाचार

आज ५८० वर्षयताकै सबैभन्दा लामो चन्द्र ग्रहण, के गर्ने, के नगर्ने ?

काठमाडौं । आज मंसिर ३ गते सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दैछ । पछिल्लो ५८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म आज चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ । यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ ।

दिउँसो करिब साढे १ बजे यो ग्रहण उच्च बिन्दुमा पुग्नेछ । यो ५८० वर्ष यताकै सबैभन्दा लामो अवधिको चन्द्र ग्रहण हुनेछ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो । यति लामो चन्द्र ग्रहण अब ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ ।

एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिने यो ग्रहण दिउँसो १ बजेर ३ मिनेटबाट दिउँसो ४ बजेर ३२ मिनेटसम्म रहनेछ । सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ ।

के गर्ने के नगर्ने ?

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ हुने धार्मिक विश्वास छ । त्यसैले यो बेलामा गंगा स्नान, जप, हवन, पाठपारायण, दान, धर्म गरेमा अरू बेलामा गरेको भन्दा अधिक फल प्राप्त हुने मान्यता छ । चन्द्र ग्रहणका बेला सुतेमा रोग लाग्ने, पिसापिसाव गरेमा दरिद्र हुने, त्यसपछि दिसापिसावको किरोको योनीमा जन्म हुने धार्मिक विश्वास छ ।

यस्तै यो बेलामा मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मने, शृङ्गार वा गाजल लगाए कुष्ट रोगी हुने, भोजन गरेमा अधोगति पतन हुने, बन्धनमा बसे सर्पको योनि हुने र कसैलाई मारेमा वा आफू मरेमा नरकमा जाने धार्मिक विश्वास छ । तर यसमा वैज्ञानिक सत्यता भने छैन । विज्ञान ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको कीटाणु घुम्ने हुँदा खाना खान नहुने र स्नान गर्नु पर्ने मान्यता राख्दछ ।

ग्रहणको बेला घर भित्रै बसेको राम्रो मानिन्छ । यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ । ग्रहणको समयपछि घर मन्दिर वा पूजा कोठा सफाइ गर्नुपर्ने र मूर्तिहरूमा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ । ग्रहण समयमा पूजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पूजापाठ बन्द गर्नुपर्छ । यो समयमा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०८:२१