सूचनाको शक्ति - The Power Of Information

        

सातौं नेपालगञ्ज म्याराथन

नेपालगञ्ज म्याराथनको पुरस्कार राशि बढ्यो, विजेताले एक लाख पाउने

वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागी गराइने

बाँके । सातौं धारा नेपालगञ्ज म्याराथनमा सबै विधाको नगद पुरस्कार राशिमा वृद्धि गरिएको छ।

मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषद्का सदस्यसचिव भीम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथरा, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाको उपस्थितिमा नेपालगञ्ज म्याराथनका संस्थापक, अध्यक्ष टीएस ठकुरीले नगद पुरस्कार घोषणा गरेका हुन्।

म्याराथन (पुरुष) तथा हाफ म्याराथन (महिला) मा शीर्ष सात जनालाई नगद राशिबाट पुरस्कृत गरिने अध्यक्ष ठकुरीले जानकारी गराए।

म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ।

त्यसैगरी, हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन्। १० किमि खुला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमि खुलातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन्।

त्यसैगरी, स्कुललेभल छात्र ५ किमिमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमि छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन्।

ह्विलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन्। किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ। वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागी गराइनेछ।

मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगञ्ज म्याराथनसँग निरन्तर साझेदारी गर्न आफूहरू तयार रहेको बताउँदै यसका विजेतालाई अन्तर्राष्ट्रिय सहभागी हुनलायक खेलाडीका हकमा वर्षभरिको प्रशिक्षण खर्च व्यवस्थापन गर्न सदैव तत्पर रहेको घोषणा गरे।

पत्रकारको जिज्ञासामा महाप्रबन्धक छाजेडले म्याराथनमार्फत आफ्नो उत्पादनको ब्रान्डिङमा समेत टेवा पुगेको हुँदा निरन्तर साझेदारी गरिरहेको बताए।

आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्कीले राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई नगद २५ हजारले अलग पुरस्कृत गर्ने र विदेशी भूमिमा राष्ट्रिय रेकर्ड बनाउने खेलाडीलाई नगद ५० हजारले पुरस्कृत गर्ने घोषणा गरे।

शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथराले सातौं धारा नेपालगञ्ज म्याराथनको विजेता अन्तर्राष्ट्रिय सहभागिता हुने हकमा आफ्नो ब्रान्डबाट यथाशक्य सहयोग हुने बताए।

राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतमले पवित्र उद्देश्य बोकेको अभियानलाई निरन्तर साथ दिने वचन दिए।
लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव भीम ओलीले नेपालगञ्ज म्याराथनको व्यवस्थापकीय विशेषता र स्तरीकरणको अभ्यास हेर्दा आठौं वर्षमा पुग्दा अन्तर्राष्ट्रिय धावक ल्याउन सफल हुनेमा विश्वस्त रहेको बताए।

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले प्राविधिक हिसाबले म्याराथनको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गरे।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भूमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए।

त्यस्तै, महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छन्। पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १६:३७