सूचनाको शक्ति - The Power Of Information

        

ठगिँदै उपभोक्ता

मारुती, युनाइटेड र जगदम्बाका सिमेन्ट गुणस्तरहीन

काठमाडौं । मारुती, युनाइटेड र जगदम्बाका सिमेन्ट गुणस्तरहीन पाइएको छ । सिरहामा रहेको मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपीसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पीपीसी सिमेन्ट गुणस्तरहीन पाइएको हो ।

गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा मारुती, युनाइटेड र जगदम्बाका सिमेन्टको नमूना परीक्षण गर्दा मापदण्डअनुसार गुणस्तर नभएको भेटिएको जनाएको छ । कम्पनीले एउटा गुणस्तर भने पनि अनुगमन र नमुना परीक्षण गर्दा सो गुणस्तर नभेटिएको विभागले जनाएको हो ।

विभागले ती कम्पनीलाई कारबाहीस्वरुप गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । विभागका अनुसार गुणस्तरहीन सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्ने मारुती, युनाइटेड र जगदम्बा सिमेन्टसँगै जानकी केबल प्रालि र श्री ग्यास वान नेपालका उत्पादन बिक्रीमा रोक लगाउँदै १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको छ ।

बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमुना विभागको प्रयोेगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा सम्बन्धित नेपाल गुणस्तरबमोजिम नभएकाले नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारबाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

उनका अनुसार विभागले तीनवटै सिमेन्ट उद्योगका उत्पादनको बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता लग्नसमेत निर्देशन दिएको छ । मारुतीले उत्पादन गरेको सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरअनुरुप नरहेको, कम्पनीले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो ।

कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ फेला परेको विभागमा महानिर्देशक पुडासैनीले जानकारी दिए । युनाइटेडले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै विभागले कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३७ र ५३ हुनुपर्नेमा ३५ र ३९ मात्रै थियो ।

यसैगरी जगदम्बा कम्पनीले उत्पादन गरेको सिमेन्टको तीन र सात दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो । उसको कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै रहेको थियो । विभागले ग्यास बोटलिङमा सामान्य सुरक्षाका मापदण्ड पनि पूरा नगरेको भन्दै श्री ग्यासको बोटलिङ अपरेशन नै बन्द गराएको छ ।

उद्योगले सिलिन्डरमा सेफ्टी क्याप नलगाएको, टेरवेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको र उद्योगमा सिभिटी मेसिनसमेत नभएको भन्दै कारबाही गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक पुडासैनीका अनुसार विभागले उद्योग बन्द गर्दै १५ दिनभित्र स्पष्टीकरण पेश गर्ने भन्दै पत्राचार गरेको छ ।

सो उद्योगले एचएसटी मेसिन प्रयोग नगरेको, सिलिण्डर धुने पखाल्ने व्यवस्था नभएको, बिग्रेको भल्भ नै परिर्वतन गर्नुपर्नेमा मर्मत गरेको, स्प्रिङ्कल मेसिन चालू अवस्थामा नरहेको र प्रेरगजको क्यालिब्रेस नभएको अवस्थामा फेला पारेपछि ग्यास उद्योग नै बन्द गरेको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार ११:४७