बझाङ । नेपाली काँग्रेसकी नेतृ तथा सुदूरपश्चिम प्रदेशकी सार्वजनिक लेखा समितिकी सभापति कुमारीनन्दा बमले दार्चुलामा रहेको ‘मालिकार्जुन’ राष्ट्रकै मुल धार्मिक सम्पदा रहेको बताएकी छन् ।
सभापति बमले बुधबार दार्चुलाको मलिकार्जुन गाउँपालिका–३ मा लाग्ने मड जात्राको अवलोकन गर्दै सो कुरा बताएकी हुन् । ‘देशकै सात धाममध्ये दार्चुलामा रहेको मालिकार्जुन एक हो,’ उनले भनिन्, ‘यसको महिमा विश्वभर फैलाउन सके यसको छुट्टै पहिचान हुन्थ्यो ।’
आफु पनि हरेक बर्ष पुजा गर्न आउने बताउँदै उनले मालिकार्जुनमा मागेको सबैको मनोकामना पुरा हुने बताइन् । मेला लाग्ने दिन दर्शनार्थीको भीड धेरै हुने भएकोले यसलाई व्यवस्थित गरेर प्रचारप्रसार गर्नुपर्ने बताइन् ।
सुदूरपश्चिमको महत्व बोकेको मालिकार्जुन व्यवस्थित गर्न प्रदेश सरकारसँग धेरै पटक दबाब दिए पनि कुनै सुनुवाई नभएको उनको भनाई छ । उनले भनिन्, ‘यो जात्रा सुदूरपश्चिको धार्मीक महत्वको जात्रा हो । तर, किन प्रदेश सरकारको ध्यान जान्न ? मैले धेरै पटक प्रदेश सरकारलाई दबाव दिएकी छु ।’
दुई बर्षयता कोभिड–१९ को त्रासले तिर्थालुको सहभागिता कम भए पनि मालिकार्जुनमा अहिले बिस्तारै गति लिन थालेको छ । मालिकार्जुन धाम सुदूरपश्चिम लगायत भारतको उत्तराखण्डका भत्तजनहरुको समेत घुइँचो लागेको छ ।
।