काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज बिहीबार प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुने भएको छ ।
क्रियाशील सदस्यताको विषय टुंगो लाग्न नसक्दा रोकिएका तल्लो तहको अधिवेशन कात्तिक २७ गतेबाट सुरु भएसँगै आज अधिवेशन हुन बाँकी अधिकांश जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो ।
१३ वटा जिल्ला सबै तहको अधिवेशन गरिसकेपनि बाँकी जिल्लाले भने अहिलेसम्म पालिका तहको अधिवेशन सम्पन्न गरेका छन् ।
आन्तरिक विवादका कारण केही जिल्लामा पूर्वर्निधारित कार्यतालिका प्रभावित भएको छ भने केहीमा आन्तरिक सहमतिमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन एकैदिन गर्ने समझदारी बनेको छ ।
सहमतिमा कार्यतालिका संशोधन गरिएका जिल्लाहरूले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनका लागि मिति तोकिएको मंसिर ६ गते नै दुवै तहको अधिवेशन गर्ने भएका छन् ।
मंसिर १० गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको मूल नेतृत्व चयनका लागि मंसिर ६ गते हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन महत्वपूर्ण हुने छ ।
सोही क्षेत्रीय अधिवेशनबाट २५ ÷ २५ महाधिवेशन प्रतिनिधि छानिने छन् । उनीहरूले नै कांग्रेसको मूल नेतृत्वसहित नयाँ कार्यसमिति चयनको अधिकार राख्ने छन् ।
त्यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट छानिने प्रतितिनिधिले संघीय संरचना अनुसार प्रदेश सभापतिसहित कार्यमिति चयन गर्नेछ ।
।