सूचनाको शक्ति - The Power Of Information

        

समाचार

भेरी अस्पतालमा सिकलसेल एनिमियाको उपचार सुरु गर्न दबाब

बाँके । भेरी अस्पतालमा रहेको सिकलसेल एनिमिया उपचार केन्द्र तत्काल सञ्चालनको माग गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारूलाई ज्ञापनपत्र बुझाइएको छ ।

कोरोना महामारी सुरु भएपछि उक्त उपचार केन्द्र बन्द गरिएपछि सिकलसेलका बिरामी समस्यामा परेकोले उपचार केन्द्र पुनः सञ्चालन गर्न बिरामीले दबाब दिँदै आएका छन् ।

विभिन्न बहाना बनाएर अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले उपचार केन्द्र बन्द गराएको भन्दै तत्काल सञ्चालनको माग गर्दै सिकलसेल एनिमिया सोसाइटीले मन्त्री थारूलाई ज्ञापनपत्र बुझाएको हो ।

भेरी अस्पतालका लागि सिकलसेल फोकल पर्सन वरिष्ठ फिजिसियन डा.राजन पाण्डेको भरतपुर सरुवा भएपछि उपचार केन्द्र बन्द गरिएकोमा अब तत्काल सुरु गर्न दबाब बढाइएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम चौधरीले बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री थारूले ज्ञापनपत्र बुझ्दै सबै कुराको जानकारी लिएर तत्काल उपचार सुरु गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको पनि उनले बताए ।

उपचार केन्द्र बन्द भएपछि सिकलसेल एनिमियाका बिरामी उपचार र परामर्शबाट वञ्चित भएको भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा.पाण्डेले बताए । उनले तत्काल उपचार केन्द्र सञ्चालनमा नल्याइए धेरै बिरामी उपचारबाट वञ्चित भई अनाहकमा दुःख पाउने जनाए ।

‘मन्त्रीले बन्द भएको सिकलसेल उपचार केन्द्र अस्पतालसँग समन्वय गरी छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ, आशा गरौँ छिटै सुरु हुनेछ,’ वरिष्ठ फिजिसियन डा.पाण्डेले भने ।

यसअघि केही दिन पहिले मात्रै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आफैँ भेरी अस्पतालमा पुगेर सिकलसेल उपचार केन्द्र बन्द हुँदा बाँके र बर्दियाका धेरै बिरामीलाई सास्ती भएको जनाउँदै तत्काल सुरु गर्न निर्देशन दिएका थिए ।

सो अवसरमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दले छिट्टै सुरु गर्ने जनाए पनि हालसम्म सञ्चालनमा नल्याइएपछि स्वास्थ्य मन्त्रीलाई सञ्चालनको माग गर्दै ज्ञापन बुझाइएको हो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार ०७:४५