सूचनाको शक्ति - The Power Of Information

        

बझाङलाई आलु खेतीमा आत्मनिर्भर बनाउन अभियान

बझाङ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङले आलुखेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजना बझाङले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्नका लागि उन्नत जातको आलुको बिउ, आवश्यक आधुनिक औजार, सिचाइँका सामान दिएर सो अभियानको थालनी गरेको हो ।

बझाङमा अन्य नगदेबालीहरुको उब्जनी कम हुने भएकोले जतिसक्दो आलु खेती लगाई जिल्लालाई आलु जोनका रुपमा विकास गर्ने योजना बनाइएको र यसमा आलु जोनको पनि सहकार्य रहेको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर बिष्टले बताए । सरकारले गहुँ खेतीभन्दा आलु लगाउन आदेश दिएको बताए ।

ज्ञान केन्द्र प्रमुख बिष्टले भने, ‘गहुँभन्दा आलु बढी उब्जनी हुुन्छ । नाफा पनि सोही अनुसार हुन्छ । आलुबाट कृषकले मनग्य आम्दानी गर्न सक्छन् । त्यसैले अब बझाङलाई आलु जोनका रुपमा विकास गर्न हामी सबैले हातेमालो गर्न आवश्यक छ ।’ प्रमुख बिष्टका अनुसार कृषि ज्ञान केन्द्रले बिउ वितरणदेखि बजारीकरण, प्याकेजिङ, निःशुल्क ढुवानी गर्नेसम्म सबै काम गर्ने बताए ।

यसअघि पनि यस्ता विभिन्न कार्यक्रमहरु आए पनि खासै काम हुन नसकेको र आगामी दिनमा माटो सुहाउँदो बिउको प्रयोग गरी जमिनको दायरा पनि बढाउँदै लगिनेछ समेत प्रमुख विष्टको भनाई छ । आलु खेतीबाट आफुहरु सन्तुष्ट भएको कृषकहरुको भनाई छ । जयपथ्वी नगरपालिका–११ साइला बगरका सुर्जन खड्काले यसअघि परिवारका लागि मात्रै खानका लागि आलु लगाउने भए पनि अहिले भने खेती नै सुरु गरेको बताए ।

साथै उनले गहुँ खेतीभन्दा पनि आलु खेतीले मनग्य आम्दानी हुने आशामा गहुँ खेती छोडेर आलु खेती लगाएको बताए । परियोजनाले सुनिगाडबाट पानी तान्ने पम्पसेट दिएपछि आलु खेती सिचाइँ गर्न निकै सहज भएको उनीहरुको भनाई छ । अहिले कृषकहरुले आलु खेती सम्बन्धि प्रशिक्षण पनि लिँदै आएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १८:२७