सूचनाको शक्ति - The Power Of Information

        

समाचार

मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यम कारबाहीमा

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरूलाई कारबाही गरिने बताएका छन् । अध्यक्ष हुमागाईँले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यमहरुमा मदिराजन्य पदार्थहरूको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानून बमोजिम कारबाही गरिने बताएका हुन् ।

उनले बोर्ड अहिले विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरूलाई पत्राचार गर्ने तयारीमा रहेको समेत बताए । अध्यक्ष हुमागाईँले ऐनले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको बताए । अध्यक्ष हुमागाईँले जनस्वास्थ्य सेवा ऐन २०७५ मदिरा, सुर्तीजन्य पदार्थहरूको विज्ञापन गर्न रोक लगाएको बताउँदै विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरेरै छाड्ने बताए ।

अध्यक्ष हुमागाईँले भने, ‘जनस्वास्थ्य सेवा ऐन २०७५ मदिरा, सुर्तीजन्य पदार्थहरूको विज्ञापन गर्न रोक लगाएको छ । विज्ञापनको उत्पादन, प्रशारण, वितरण र प्रकाशन गर्न रोक लगाएको छ । हामीले यही कार्तिक २५ गते त्यस्ता पदार्थहरूको विज्ञापन उत्पादन, प्रकाशन तथा प्रशारणको काम, नगर्नू, नगराउनु भनेर एउटा विज्ञापन जारी गरेका छौँ र त्यस यता केही पत्रपत्रिकाहरूले विज्ञापनहरू प्रकाशन गरेका छन् । हामी ती प्रकाशन गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई समेत हामी पत्राचार गर्दैछौँ ।’

यदी कुनै पनि व्यक्ति वा संस्थाले विद्यमान कानूनको प्रतिकुल कुनै काम गर्छ भने त्यस्ता व्यक्ति वा संस्थालाई सोही कानून बमोजिम कारबाही हुने बताउँदै उनले भने, ‘खास गरी यो ऐनले त्यस्ता पदार्थको बिक्री वितरणमा रोक लगाएको होइन । उत्पादनमा रोक लगाएको होइन, विज्ञापन गर्नमा मात्र रोक लगाएको हो, विज्ञापन बोर्डको गठन भइसकेपछि हामीले अनुगमन कार्यलाई तीव्र पारेका छौँ ।’

यता राष्ट्रिय टेलिभिजन प्रसारक संघले पनि सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन गरेकोमा बिरोध गरेको छ । राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताए । उनले निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर मदिराको विज्ञापन निकाल्दा प्रशासन, राज्य र विज्ञापन बोर्डले केही गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष अधिकारीले कानूनले वर्जित गरेका काम गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्न माग गरे । अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको बताए । उनले कानूनमा भएको कुरालाई हुबहु लागू गराउनु पर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरुले बढी चासो दिनुपर्ने बताउँदै भएको कानूनलाई लागू गराउनुपर्ने बताए । अध्यक्ष अधिकारीले सार्वजनिक सञ्चार माध्यमहरुमा मदिरा लगायत कुनै चिजहरूको विज्ञापन गर्ने कुरा कुनै किसिमले उचित नहुने पनि बताए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १७:४०