काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन्। दशौं राष्ट्रिय कर दिवसका अवसरमा बुधबार आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताएका हुन्।
‘करदाताहरूको गुनासा सुन्नुपर्छ। यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’, मन्त्री शर्माले भने, ‘तपाईँहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाई/संयन्त्र बनाउँछु। त्यहाँ तपाईँले गुनासो राख्न पाउनुहुन्छ।’
उनले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाइने स्पष्ट पारे। मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताए। ‘पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको छ’, उनले भने, ‘इन्सेन्टिभ दिन छुटेकालाई समेत तत्काल दिनुहोस्।’
उनले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताए। राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताइन मन्त्री शर्माको भनाइ छ। ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको बताउँदै उनले भने, ‘सुरु गरेरमात्र पुग्दैन। कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिवद्धता यहाँ जनाउँछु।’
कार्यक्रममा मन्त्री शर्माले भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सरकार आफैले छाप्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
अर्थसचिव मधुकुमार मरासिनीले कर जबरजस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताए। उनले प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा सुविधा उपलब्ध हुने बताउँदै सबैलाई करदाता शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए।
राजस्व सचिव कृष्णहरि पुस्करले कोभिड–१९ महामारीले पुर्याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानमा टेवा पुगिरहेको बताए।
कार्यक्रममा क्षेत्रगत उत्कृष्ट तथा सबैभन्दा बढी तिर्ने करदता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो।
आन्तरिक राजस्व विभागले लक्ष्यको ९५.३२ प्रतिशत लक्ष्य हासिल गरेको कार्यक्रममा जानकारी दिइयो। कार्यक्रममा वार्षिक प्रतिवेदन ०७७/७८ सार्वजनिक गर्दै विभागले आव ०७७/७८ मा ४ खर्ब २९ अर्ब २७ करोड राजस्व सङ्कलन गरेको बताएको हो। त्यस्तै २ खर्ब ८७ अर्ब ६ करोड मूल्य अभिवृद्धि कर, २ खर्ब ७७ करोड आयकर तथा १ खर्ब ३४ अर्ब ९ करोड अन्तःशुल्क राजस्व सङ्कलन भएको छ।
।