सूचनाको शक्ति - The Power Of Information

        

समाचार

शैक्षिक संस्थामा ‘विप्लव’ बन्दको प्रभाव

बझाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव सुदुरपश्चिममा शैक्षिक संस्थाहरुमा परेको छ । बझाङ सहित सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा बिहानैदेखि सवारी साधन नचलेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिएका छन् ।

ग्रामिण भेगका केहि शैक्षिक संस्थाहरु खुले पनि केहि ठाउँका बजार तथा बजारमा रहेका शैक्षिक संस्था पनि बन्द रहेका छन् । लामो तथा छोटो दूरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरु मर्कामा परेका छन् । प्रहरी उपरीक्षक गौतमले भने, ‘सवारी साधन चल्न सकेका छैनन् । बजारहरु पनि बन्द छन् । बीचबाटोमा रोकिएका सवारीसाधनलाई स्कटिङ गरेर पठाइने व्यवस्था गरिएको छ ।’

बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए । उनले भने, ‘यहाँबाट बाह्य जिल्ला तथा धनगढी, काठमाडौका लागि छुट्ने सवारीसाधन छुट्न सकेका छैनन् । सदरमुकाम चैनपुर लगाएत अन्य बजार भने खुला रहेका छन् ।’

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो । बझाङको सदरमुकाम चैनपुरमा रहेका विद्यालयहरुमा विहान विद्यार्थीहरु विद्यालय पुगेपनी नेपाल बन्द भएकाले विद्यालय बन्द रहेको भन्दै विद्यालयबाट घर फर्काएको विद्यार्थीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार ११:४५