सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बन्द गराउँदै हिँडेका नेकपाका २६ कार्यकर्ता प्रहरी नियन्त्रणमा

बाँके । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका २६ कार्यकर्ता पक्राउ परेका छन् । मंगलबार बिहान नेपालगन्ज, काठमाडौँ लगायत विभिन्न ठाउँबाट चन्दका कार्यकर्ता पक्राउ परेका हुन् ।

बन्द गराउँदै सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–११ सुर्खेत घर भइ हाल जानकी गाउँपालिका–३ बस्ने ३३ बर्षिय पुष्कलकुमार माझीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आज बिहान नेपालगन्जको औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नेपालगन्जमा लामो तथा छिटो दुरीका सार्वजनीक सवारीसाधन गुडेका छैनन् भने निजी सवारी साधनहरु फाटफुट चलेका छन् ।

ई–रिक्सा र मोटरसाइकलहरु पनि कमै मात्रामा चलेका छन् । त्यसैगरी, बिद्यालय बन्द रहेका छन भने बजार आंशिकरुपमा खुलेको छ । यस्तै बन्द गराउँदै हिँडेका ६ जनालाई साँखु र महाराजगन्जबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौं जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ र सुकबहादुर तामाङसहित ६ जना छन् । दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर संगठनको जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशंकरलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । सडक र बजार सुनसान छ । त्यस्तै पोखरामा पनि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।

पोखरामा बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । पोखरामा बिहानैदेखि बजार बन्द छ । सार्वजनिक यातायात ठप्प छन् भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार १०:४६