सूचनाको शक्ति - The Power Of Information

        

समाचार

गाभरमा देखिने बाघ नरैनापुरतिर, मान्छे र गाई खाएपछि स्थानीय आतङ्कित

फाइल तस्वीर

बाँके । बाँकेको गाभर क्षेत्रमा बारम्बार देखिने बाघ अहिले आएर जिल्लाको नरैनापुर क्षेत्रमा पुगेपछि सो क्षेत्रका सर्वसाधारण आतङ्कित बनेका छन् ।

यसअघि बाँके निकुञ्ज क्षेत्रमा देखिएको बाघ हाल आएर नरैनापुरको राष्ट्रिय जङ्गलमा पसेपछि सो क्षेत्रका स्थानीय अत्यधिक त्रसित भएका हुन् । त्यस क्षेत्रमा पसेको बाघले नरैनापुर गाउँपालिका–४, पण्डित पुरुवाका लखन गडरिया र उनको एउटा गाई मारेर खाएपछि उक्त क्षेत्र असुरक्षित बनेको वडावासीको भनाइ छ ।

वडा नं.४ का स्थानीय रमेश गडरियाले गाई चराउन गएका गडरिया र एउटा गाईलाई बाघले खाएको घटनापछि स्थानीय घरबाट निस्कन डराइरहेको जनाएका छन् । यससँगै नजिकै बाघ कराएको स्वरसमेत सुनिने गरेकाले झन् त्रास बढ्दै गएको बताए । उनले बाघ निकुञ्जबाट आएकाले छिटोभन्दा छिटो नियन्त्रणमा लिनुपर्ने माग पनि गरे ।

इलाका प्रहरी कार्यालय भोजभगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले नरैनापुरको पर्यटकीयस्थल गोवद्र्धन धामदेखि पाँच किलोमिटर पूर्वपट्टिको जङ्गलमा गडरियाको आधा शव र गाईको पनि आधा भाग फेला परेको बताए । उनले बाघले मानिस नै मारेपछि सो क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको र एक्लै जङ्गलमा नजान समेत सूचना प्रवाह गरिएको बताए ।

यसअघि गाभरमा डेढ महिनाअघि दुईवटा बाघले एक जना भारतीय नागरिकलाई सडकबाटै तानेर खाएको थियो । उक्त घटनापछि सो क्षेत्रमा पटक–पटक बाघ देखिएकाले बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुईवटा घरपालुवा हात्तीसहितको टोली सो क्षेत्रमा परिचालन गरेको थियो । तर, सो टोलीले अझै पनि बाघलाई नियन्त्रणमा लिन सकेको छैन । निकुञ्जले त्यहाँ राखेको सीसीटीभी क्यामरामा चारवटा बाघ देखिएपछि स्थानीयमा झनै डर र त्रास बढेको छ ।

प्रहरीले नरैनापुर क्षेत्रमा बाघको आक्रमणबाट मान्छेको मृत्यु भएको यो पहिलो घटना भएको जनाएको छ । नरैनापुरमा बाघले मान्छे खाएको क्षेत्र आसपास पर्यटकीयस्थल गोर्वद्धन धाम, बरफानी बाबा रहेकाले दिनदिनै ठूलो सङ्ख्यामा सो क्षेत्रमा धार्मिक पर्यटकको आवागमन हुने हुँदा उनीहरूको सुरक्षाका लागि सो क्षेत्रमा पनि हात्तीको व्यवस्था गर्नुपर्ने माग नरैनापुर गाउँपालिकाले गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार ०८:०९