काठमाडौं । एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई चुनौती दिन भदौ (२०७८) अन्तिम हप्ता अस्ट्रेलिया, बेलायत र संयुक्त राज्य अमेरिकाले ‘अकस गठबन्धन’ बनाएका थिए । ‘अकस’ गठबन्धनमा सामेल यिनै तीन मुलुकका नेपालस्थित राजदूतहरु यसैसाता चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशको मुगुस्थित रारा ताल पुगेका छन् ।
अमेरिकी राजदूत र्यान्डी बेरी र अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क आइतबार रारा ताल पुगेका थिए भने बेलायती राजदूत निकोला पोलिट सोमबार त्यहाँ पुगिन् । मुगु भ्रमणका लागि योजना बनाउन तीनै जना राजदूतले शनिबार (२७ कात्तिक) बिहान बैठक समेत गरेका थिए ।
रारा क्षेत्रको भ्रमणमा जानुअघि सामाजिक सञ्जालमार्फत् सम्बद्ध मुलुकका दूतावासले यो भ्रमण वातावरण र जलवायु परिवर्तनले पारेको असरबारे केन्द्रित रहेको प्रष्ट्याएका छन् । तर, रारा ताल भ्रमणका लागि ‘अकस गठबन्धन’मा सामेल राष्ट्रका राजदूतहरुले मात्र किन गठजोड बनाए भन्ने विषयले धेरैको ध्यान खिचेको छ ।
के हो अकस ?
‘अकस’ पदावली अस्ट्रेलियाको ‘ए’, संयुक्त अधिराज्य (बेलायत) ‘यूके’ र संयुक्त राज्य अमेरिका ‘यूएस’लाई जोडेर बनाइएको हो । उपरोक्त तीन मुलुकले ‘अकस गठबन्धन’ को घोषणा भने १५ सेप्टेम्बरमा गरेका थिए । साइबर क्षमता, कृत्रिम बौद्धिकता र क्वान्टम प्रविधिको विकासमा सहकार्य गर्ने उद्देश्य रहेको बताइएको छ ।
यद्यपी यसको उद्देश्य एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्नु नै हो । यसै उद्देश्यअनुरुप अमेरिका र बेलायतले अस्ट्रेलियालाई अर्बाैं डलरको आणविक उर्जाचालित पनडुब्बी बिक्री गर्ने सम्झौतासहित अकस गठबन्धन घोषणा गरिएको थियो । खासमा अस्ट्रेलियाले फ्रान्ससँग आणविक उर्जाचालित पनडुब्बी खरिद सम्झौता गरिसकेको थियो ।
तर, अकस सम्झौता हुनुभन्दा केही घण्टा अघिमात्र फ्रान्ससँगको सम्झौता अस्ट्रेलियाले रद्द गरेपछि तीनै मुलुकसँग यतिबेला फ्रान्सको सम्बन्ध चिसिएको छ । यसअघि एसिया–प्रशान्त क्षेत्रमा चिनियाँ प्रभावलाई रोक्न अमेरिकाले भारत, जापान र अस्ट्रेलियासहित चार मुलुक सामेल ‘क्वाड गठबन्धन’ निर्माण गरेको थियो । तर, यो गठबन्धन सैन्य हिसाबले चीनविरुद्ध प्रभावकारी हुन नसकेको विश्लेषण हुँदै आएको छ ।
राजदूतत्रयले २७ कात्तिकमा रारा घुम्ने योजना बनाएका थिए (तस्वीर : अस्ट्रेलियाली राजदूत भोल्कको ट्विटरबाट)
‘अकस’मा सामेलमध्ये अमेरिका विश्वमा बढ्दो चिनियाँ प्रभाव रोक्न प्रयत्नशील मुलुक हो भने बेलायतले दोस्रो विश्वयुद्धदेखि नै सामरिक मामिलामा अमेरिकालाई साथ दिँदै आएको छ । प्रशान्त महासागरको किनारामा रहेको अस्ट्रेलिया पनि पछिल्लो समय चीनविरुद्ध निकै मुखर बनेको छ र सामरिक मामिलामा अमेरिकाको सहयात्री बनेको छ । यस्तो स्थितिमा तीन मुलुकका राजदूतहरु रारा ताल भ्रमणका पनि सहयात्री बन्न पुगेका छन् ।
नेपालबाट दिन खोजेको सन्देश
नेपालका पर्यटकीयस्थलहरुमा नेपालस्थित राजदूतहरु बेलाबेला संयुक्तरुपमा भ्रमणमा जाने गरेका छन् । १० वर्षअघि पनि नेपालमा रहेका विभिन्न ११ मुलुकका आवासीय राजदूतहरु रारा तालको भ्रमणमा गएका थिए । तर, यस पटक भने ‘अकस’ राष्ट्रका राजदूतत्रयले २७ कात्तिकमा रारा ताल जाने घोषणा गरे ।
र, भोलिपल्टै (२८ कात्तिक) त्यसतर्फ प्रस्थान गरिहाले । उनीहरुले ‘क्वाड’ गठबन्धनमा सामेल भारत र जापानका राजदूतहरुलाई समेत सामेल गराउन चाहेको देखिएन । उसो त चीनसँग सीमा जोडिएका भारत र जापान अन्य तीन मुलुकजसरी चीनप्रति आक्रामक रुपमा प्रस्तुत हुन सकिरहेका छैनन् ।
अमेरिकी नेतृत्वमा सक्रिय रहेको अर्काे गठबन्धन हो, ‘फाइभ आइज’ यसमा अमेरिकाका अलावा बेलायत, अस्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्ड सामेल छन् । यसअन्तर्गत उनीहरु एकअर्कासँग गुप्तचर सूचना आदानप्रदान गर्ने गर्छन् । ‘फाइभ आइज’मा सामेल अमेरिका, बेलायत र अस्ट्रेलियाको राजदूतावास नेपालमा रहे पनि क्यानाडा र न्युजिल्यान्डको दूतावास छैनन् ।
त्यसैले, यो भ्रमणलाई ‘फाइभ आइज’ मुलकका नेपालस्थित राजदूतहरुको भ्रमण पनि भन्न सकिने स्थिति छ । ‘जलवायु परिवर्तनको विषयमा जानकारी लिन यो भ्रमण भएको भनेर सम्बन्धित राजदूतहरुले भन्नुभएको छ । यो भनाइमा अविश्वास गर्नुपर्ने कुनै कारण नभएको सामरिक मामिलाविज्ञ नेपाली सेनाका पूर्व सहायकरथी सुरेन्द्र रावल बताउँछन् ।
उनी भन्छन्, ‘तर, अकस गठबन्धनमा सामेल मुलुकका राजदूत मात्र संयुक्तरुपमा रारा ताल पुग्नु एउटा रमाइलो संयोग चाहिँ पक्कै हो ।’ रावलका भनाइमा स्कटल्यान्डको ग्लास्गोमा अघिल्लो हप्तादेखि सुरु भएको कोप–२६ सम्मेलनका कारण जलवायु परिवर्तन र वातावरण सम्बन्धी मुद्दाले धेरैको ध्यान तानेको छ । त्यसैले यस विषयमा संवेदनशीलता दर्शाउन पनि यी तीन मुलुकका राजदूतहरु संयुक्तरुपमा रारा क्षेत्रको भ्रमणमा गएका हुन सक्छन् ।
तर, यो भ्रमणले नेपालमा यी तीन मुलुक मिलेर अघि बढेका छन् भन्ने सन्देश दिएको विदेशस्थित नेपाली नियोगमा राजदूत रहिसकेका एक पूर्व नेपाली कुटनीतिज्ञले बताए । ‘अकस गठबन्धनझैँ नेपालमा पनि हामी मिलेर अघि बढिरहेका छौँ भन्ने सन्देश उनीहरुले दिन चाहेको हुनसक्छ,’ ती पूर्वराजदूतले भने, ‘त्यही भएर उनीहरु संयुक्तरुपमा रारा क्षेत्रको भ्रमणमा गएका हुन सक्छन् ।’
।