सूचनाको शक्ति - The Power Of Information

        

जुवाडेको घरमा सिसी क्यामेरा, चकित प्रहरी !

पोखरा । कार्यालय र व्यापारिक भवनमा सिसी क्यामेराको निगरानी सामान्य हुन थालिसक्यो । अलि ठूलाबडाले चाहिँ घरमै पनि सिसी क्यामेरा राख्न थालेका छन् । बाहिरबाट आफ्नो घरमा को आउँदैछ भन्ने थाहा पाउन चाहनेलाई सिसी क्यामेरा काम लाग्दो प्रविधि हो । चापापानीको एउटा घरमा त्यस्तै सिसी क्यामेरा छ, जसका घरधनीलाई अरुलाई भन्दा बढी चासो आफ्नो घरभित्र कोही आइहाल्छ कि भन्ने हुँदोरहेछ ।

नवीन गौचनले घरमा जडान गरेको सिसी क्यामेराको खास निगरानीमा चाहिँ प्रहरी थियो । किनभने घरमा जुवातास खेल्ने खेलाउने उनी प्रहरी आइहालेको खबर पहिल्यै पाएर सुरक्षित हुन चाहन्थे । र, सिसी क्यामेराले खिचेका दृश्य देखिने टेलिभिजन सेट तास खेल्ने टेबलमै जडान गरेका पनि थिए । तर हुने हार दैव नटार उनले सोचेजस्तो भएन, उनको घर शनिबार राति (बिहान) २ बजे प्रहरीले घेरिहाल्यो । जसै प्रहरी पुग्यो, घरको गेट, ढोका खोल्नभन्दा तास, पैसा र जुवाडे लुकाउन लागि हाले ।

अनेक प्रयासपछि गौचनको घरभित्र पसेको प्रहरी सिसी क्यामेरा जडान गरेको देखेपछि चकित बन्यो र उनीसहित ६ जनालाई पक्राउ गर्यो । साथबाट १८ लाख ७५ हजार रुपैयाँ नगर बरामद पनि गर्यो । ३२ वर्षीय नवीन गौचन, पोखरा महानगरपालिका १२ फूलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ, पोखरा १२ माटेपानी बस्ने ३८ वर्षीय सूर्य गुरुङ, दैलेख नौमुले गाउँपालिका ८ घर भई पोखरा २६ विजयपुर बस्ने ३५ वर्षीय खम्बसिंह राना, कास्की मादीगाउँपालिका १० घर भई पाखेरा महानगरपालिका १३ संगम टोल बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा महानगरपालिका १६ बस्ने ३५ वर्षीय श्याम श्रेष्ठ पक्राउ परे ।

पछिल्लो समय जुवाखालबाट बरामदमध्ये यो सबैभन्दा ठूलो रकम हो । कास्की प्रहरी प्रमुख एसपी रमेश थापा असार दोस्रो सातादेखि यहाँको कमान्ड सम्हाल्न आएदेखि उनले जुवातास, लागुऔषध कारोबारलाई तारो बनाएर नियन्त्रणमा लागेका छन् । यसबीच थुप्रै जुवाडे र लागुऔषध कारोबारी समातिसकेका छन् । कात्तिक १८ गते कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिकाबाट १५ लाख नगदसहित ११ जना जुवाडे पक्रेको थियो । त्यहाँ जुवाडेहरु होटल भाडामा लिएर तास खेलिरहेका थिए । दुर्गम गाउँमा प्रहरीले सुइँको नपाउने भन्दै पोखराबाट गएका उनीहरुलाई पनि प्रहरीले रातिको समयमा समात्न सफल भएको थियो ।

स्याङ्जा हरिनास गाउँपालिका ३ का २८ वर्षीय कमल भण्डारी, पोखरा–१७ ड्यामसाइडका २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार २ का २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका २ घर भई पोखरा १७ बस्ने ३४ वर्षीय दामोदर पौडेल, पोखरा–१७ छोरेपाटनका २६ वर्षीय विनय गुरुङ र पोखरा–१७ छोरेपाटनका ३२ वर्षीय कर्ण केसी, चितवन भरतपुर महानगरपालिका १ घर भई पोखरा बसपार्क बस्ने ३५ वर्षीय राजु घिमिरे, पोखरा ८ सिमलचौर बस्ने ४३ वर्षीय नारायण सिग्देल, पोखरा ६ बैदामका ४३ वर्षीय राजु कार्की, पोखरा २६ अर्चलेका ३३ वर्षीय स्वागत रानाभाट र बागलुङ नगरपालिका ८ घर भई पोखरा १७ बस्ने ३९ वर्षीय मनबहादुर खड्का त्यतिबेला पक्राउ परेका थिए । जुवाडेहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने शीर्षक मुद्दामा प्रहरीले कारबाही चलाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार १०:२८