सूचनाको शक्ति - The Power Of Information

        

व्यक्ति विशेष

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ मितेरी र गायनपछि ‘टिकटक डान्सर’

बाँके । नेपाली समाजमा एउटा उखान छ, गोत्र हार्नु, मित्र नहार्नु । एक चोटी मितेरी लगाएपछि सात पुस्तासम्म साइनो कायम रहने विश्वास गरिन्छ । पुरुष–पुरुष र महिला–महिलाबीच मितेरी लगाउने प्रचलन नेपाली समाजका लागि असामान्य होइन । तर, महिला र पुरुषबीच ‘मितेरी’ लगाउने सायदै भेटिन्छन् ।

यिनैमध्येमा पर्छन्, नेपालगन्ज उपमहानगरपालिका–१९ सूर्जी गाउँका ५१ वर्षका श्याम गिरी । पण्डित इन्द्रप्रसाद उपाध्यायले नेपालगन्जका उपमहानगरपालिका–१९ सूर्जी गाउँ निवासी श्याम गिरी र राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी ३२ वर्षीया श्यामकुमारी चौधरीसँग २०७६ बैशाख २१ गते लगाएको मितेरी सम्बन्धले देशविदेशमा चर्चा कमाए ।

श्याम र श्यामकुमारीलाई मितेरी लगाउन लिंग, उमेर र जातले छेकेन । स्थानीय एफएममा रेडियोबाट बज्ने सांगीतिक कार्यक्रममार्फत् चिनजान भएका उनीहरू दुई बर्षअघि विपरीत लिंगबीच मितेरी लगाउँदै पारिवारीकरूपमा जोडिएर चर्चा कमाए । मितेरी लगाएपछि श्याम गिरी महिला र पुरुषबीच हुने विभेदविरुद्धको एउटा बलियो खम्बाका रुपमा स्थापित भए ।

अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान् । रेडियोको माध्यमबाट उनले मित लगाएपछि नचिनेकाले पनि उनलाई चिन्न थाले । रेडियो कार्यक्रमबाट नै मित लगाएपछि उनको चर्चा सर्वत्र भइरहेको छ । यो खबर नेपालभर नै फैलिएपछि उनले एकाएक चर्चा बटुले ।

नेपाल आयल निगमको नेपालगन्ज डिपोमा २२ बर्षदेखि कार्यरत गिरी रेडियो कार्यक्रममा आम स्रोताका माझ श्याम गिरी ‘रेडियो प्रेमी वान’ नामबाट निकै परिचित छन् । रेडियोका नियमित कार्यक्रमहरुमा सधैं फोनमार्फत उपस्थिति देखाइरहने उनले आफूलाई ‘रेडियो प्रेमी वान’को नामबाट चिनाउँछन् । हुन त गिरी कुनै न कुनै रुपमा चर्चामा आइरहन्छन् ।

सामान्य परिवारका सरल स्वभावका गिरीले मितेरीको सम्बन्धपछि ‘हे माया तिमी कहाँ छौं कहाँ’ बोलको पहिलो आधुनिक गीति एल्वम बजारमा ल्याएर अर्को चर्चा कमाए । उनकै शब्द/रचना रहेका गीतमा गायक भद्र वलीले आवाज दिएका छन् । प्रेमीप्रेमिकाले मायामा पाउने धोका र विछोडपछिको अवस्थालाई उक्त गीतमा उतारेका छन् ।

उक्त गीतले युवाहरु माझ निकै चर्चा पायो । गीतमा प्रेमीले आफ्नो प्रेमिकालाई खोजी गरिरहेका हुन्छन् । प्रेमिकालाई झुटो माया नगर्न प्रेमीले आग्रह गरेका छन् । गीतमा ‘तिम्रो बाटो हेर्दा हेर्दै दिन पनि भयो रात’, ‘हे माया तिमी कहाँ छौं कहाँ’ भन्दै आफ्नो प्रेमिकालाई खोजी गरिएको छ । यस गीतको भिडियोसमेत बजारमा आइसकेको छ ।

गिरीले अहिले अरु गीतहरु पनि रचना गरिरहेका छन् । पछिल्लो समयमा गीत रचनासँगै टिकटक डान्सरका रुपमा पनि उनी आफ्नो परिचयलाई फराकिलो बनाउँदै लिएका छन् । ‘प्रेमी वान रेडियो’ टिकटक ह्यान्डलमा उनले दजनौं गीतहरुमा उनले नृत्य प्रस्तुत गरेर अहिले उनले देशविदेशमा चर्चा बटुलिरहेका छन् ।

उनको कपाल, शारीरिक बनावट र जुनसुकै गीतहरुमा पनि सहजै नृत्य प्रस्तुत गर्न सक्ने गिरीलाई टिकटकमा धेरैले पछ्याएका छन् । ‘आहा ! लाखौं ताराको बीचमा चन्द्रमाको प्रकाश फैलिए झैं टिकटकभर हजुरको अभिनयको जादु फैलिएको छ, शुभकामना,’ रितिका खनाल नामकी टिकटक प्रयोगकर्ताले गिरीको नृत्यको प्रशंसा गर्दै कमेन्टमा भनेकी छन् ।

टिकटक डान्सर गिरीले देशविदेशबाट आफ्नो प्रशंसा भएकोमा खुशी व्यक्त गर्नै यसले आफुलाई नृत्य प्रस्तुत गर्न थप हौसला मिलेको बताए । उनले भने, ‘मलाई धेरैले मन पराउनुभएको छ । यसका लागि म सबैलाई धन्यवादन दिन चाहन्छु । मेलै बाँके जिल्लालाई देश विदेशमा चिनाउन पनि पाएको छु । यसमा गर्व लागेको छ ।’

उनको टिकटक ह्यान्डललाई अहिलेसम्म ६० हजार बढीले लाइक गरिसकेका छन् । नेपालका सुपरस्टार भुवन केसी, हास्यकलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली), चर्चित गायिका मन्जु पौडल लगायत कलाकारलाई भेटिसकेका उनले टिकटक स्टार अंशु बर्मासँग पनि टिकटक बनाएर चर्चा कमाएका छन् ।

हेर्नुस् केही टिकटक भिडियोहरु :

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार ०८:२५

सिफारिस