सूचनाको शक्ति - The Power Of Information

        

जनस्वास्थ्यमाथि खेलबाड

किन बन्द भयो भेरी अस्पतालको सिकलसेल एनिमिया उपचार केन्द्र ?

बाँके । पश्चिम नेपालका बाँके, बर्दियाल लगायतका विभिन्न जिल्लाका सिकलसेल एनिमियाबाट पीडित बिरामीको उपचारका लागि भेरी अस्पतालमा स्थापना गरिएको उपचार केन्द्र हाल अलपत्र परेको छ । सिकलसेल एनिमिया फोकल पर्सन वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेको गत वर्ष भरतपुर अस्पतालमा सरुवा भएपछि उक्त केन्द्र अलपत्र परेको हो ।

डा.पाण्डे भेरी अस्पतालमा फिर्ता भएको लामो समय बिते पनि कोठा अभावमा सिकलसेलका बिरामीको उपचार केन्द्र सञ्चालनमा नआएको एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारूले बताए । सो उपचार केन्द्र बन्द भएपछि यस क्षेत्रका सिकलसेलका बिरामीको उपचारमा समस्या भइरहेको थारूको भनाइ छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.वीरेन्द्रबहादुर चन्दले कोभिडका बिरामीको चाप र भवन अभावका कारण सिकलसेल उपचार केन्द्र बन्द भएको बताए । उनका अनुसार सिकलसेल एनिमिया उपचार केन्द्र भएको ठाउँमा पीसीआर ल्याब स्थापना भएकाले कोठाको व्यवस्था गरी फेरि सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

लुम्बिनी प्रदेश सभाका सांसद कृष्णा केसी नमुनाले पनि सिकलसेल एनिमिया उपचार केन्द्रलाई छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्ने माग गरेकी छन् । ‘जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलका बिरामीलाई उपचार तथा परामर्शबाट वञ्चित गर्नहुँदैन,’ उनले भनिन् । भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले पनि सिकलसेल युनिटका लागि भवन व्यवस्था गरी उपचार नियमित गर्ने बताए ।

सिकलसेल एनिमिया उपचार केन्द्र बन्द भएको विषयमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले चासो देखाएक छन् । उनले भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.चन्दलाई भेटेर यो उपचार केन्द्र तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको प्रदेश सभाका सांसद केसीले बताए ।

एक जना चिकित्सकको सरुवा हुनेबित्तिकै उपचार केन्द्र बन्द हुनु दुर्भाग्य भएको बताउँदै मन्त्री शर्माले बिरामीको मागलाई मध्यनजर गरी तत्काल सञ्चालनमा ल्याउन अस्पताल प्रमुखलाई निर्देशन दिएको सांसद केसीले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार ०८:१३