सूचनाको शक्ति - The Power Of Information

        

कैलाली हत्या प्रकरण

आफ्नै साथीबाट ‘लखेटीलखेटी’ किन मारिए भुपेन्द्र बडुवाल ?

हत्या गरिएका युवक (बीचमा), हत्या आरोपमा पक्राउ परेका युवकहरु (दायाँ बायाँ)

धनगढी । गत मंगलबार राति लुम्कीचुहा नगरपालिका–१ लम्की बजारका २२ वर्षीय युवक भूपेन्द्र बडुवाललाई टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलनजिक लखेटीलखेटी चक्कुले हानेर मारियो । घटनामा संलग्न ८ अभियुक्तलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भूपेन्द्रको हत्या आरोपमा इलाका प्रहरी कार्यालय (टीकापुर) मा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ । जसमध्ये घटनाका ‘योजनाकार’ चिसापानीका नवीन रावलसहित ८ जना अझै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक भूपेन्द्र बडुवालका बुवा डम्बरले भने नवीन रावलको समूहले भूपेन्द्र आफ्नो ‘ग्याङ’मा सामेल नभएको रिसमा हत्या गरेको दाबी गरेका छन् ।

उनका अनुसार चिसापानीका नवीन र टीकापुरका जयन्त शाही केही वर्षअगाडि एउटै समूहमा थिए । उनीहरू चिसापानी, लम्की, टीकापुर क्षेत्रमा गुन्डागर्दी गर्थे । तर पछि उनीहरूबीच काठको विषयमा झगडा भयो । र, छुट्टाछुट्टै समूह सञ्चालन गरेर गुन्डागर्दी गर्न थालेका थिए । दुवै जना एकअर्काका दुश्मन भएका थिए । भूपेन्द्र जयन्तसँग नजिक थिए ।

‘घटनापछि बुझ्दा नवीन र जयन्तले एकअर्कालाई सिध्याउनेसम्मका कुरा भएका रहेछन्,’ भूपेन्द्रका बुवा डम्बरले भने, ‘दसैंअघि नवीनले भूपेन्द्रलाई हतियार देखाएर मेरो टीममा आउनुपर्छ भन्दै थर्काएका थिए ।’ उनका अनुसार भूपेन्द्रले नवीनको कुरा इन्कार गर्दै अब केही नगरेर पढ्न विदेश जाने बताएका थिए । नवीन र भूपेन्द्र आपसमा ‘मामा–भान्जा’ भनेर सम्बोधन गर्थे ।

‘नवीनले भूपेन्द्रलाई भान्जा ग्रुप फरक भएको छ । हामीसँग लाग्नुपर्छ भनेर भनेका रहेछन् । तर भूपेन्द्रले चाहिँ ग्रुपमा लाग्नुहुन्न । यहाँ यो गर्नुभन्दा त अब पाँच वर्ष पढाइका लागि विदेश जान्छु भनेर भनेको अहिले सुन्नमा आएको छ,’ डम्बरले भने, ‘त्यसैले भूपेन्द्र आफ्नो समूहमा नआएको रिसमा नवीनले हत्या गरेको देखिन्छ ।’ भूपेन्द्रका साथी कपिल श्रेष्ठ दोहोरो भूमिकामा प्रयोग भएको हुनसक्ने उनको आशंका छ ।

कपिल भूपेन्द्रका नजिकका साथी थिए । उनी पनि काठमाडौँ नै बस्थे । केही दिनअगाडि मात्रै उनी घर लम्की आएका थिए । ‘कपिलले भूपेन्द्रलाई बोलाउँछ । र, भूपेन्द्रले जयन्त शाहीलाई बोलाउन सक्छ,’ डम्बरले भने, ‘त्यसपछि कसलाई के गर्ने योजना छ त्यहीअनुसार गर्न सकिन्छ भन्ने नवीनको समूहले ठानेको हुनसक्छ ।’ घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने उनको माग छ ।

‘नवीन र जयन्तको समूहले गर्दा मैले त पीडा भोगेँ । मजस्तै पीडा अरूले भोग्न नपरोस्,’ उनले भने, ‘घटनाको सत्यतथ्य छानबिन गरेर अपराधीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’ उता जिल्ला प्रहरी कार्यालय (कैलाली)का एसपी विश्व अधिकारी घटनाको अनुसन्धान भइरहेको बताउँदै दोषीलाई कानूनी दायरामा ल्याइने दाबी गर्छन् । ‘हत्या आरोपित १६ मध्ये ८ जनालाई नियन्त्रणमा लिइसकेका छौं,’ उनले, ‘बाँकी फरारको पनि खोजी भइरहेको छ ।’

भूपेन्द्रलाई घरबाट लैजाने लम्कीका उनका साथी २२ वर्षीय कपिल श्रेष्ठसहित लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार ०७:३८