बाँके । वर्षामा भिजेको भन्दै बाँकेका किसान सस्तोमा धान बेच्न बाध्य भएका छन् । धानको सिजन सकिएर किसान हिउँदे खेतीको तयारीमा लाग्दासमेत धान खरिदको प्रक्रिया अघि नबढेपछि बाँकेका किसान सस्तोमा धान बेच्न बाध्य भएका हुन् । कार्तिक पहिलो साता आएको बेमौसमी वर्षाले बाँके लगायत देशभरका किसानले ठूलो क्षति ब्यहोरेका छन् ।
तर, सरकारले तोकेको मूल्य व्यापारीले नदिने र सरकार आफै धान खरिदमा उदासिन बन्दा किसानले सस्तो मूल्यमा धान बेच्न बाध्य छन् । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था कार्यालयले नयाँ धान खरिदमा उदासिनता देखाइरहँदा बाँकेका किसान थप मर्कामा परेका छन् । यसले किसान निरास हुनुका साथै बेमौसमी बर्षाका कारण क्षति भएर बाँकी रहेको धान किसानको आँगनमै थन्किएको छ ।
किसानले धानखेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गनुपर्ने व्यवस्था छ । सरकारले यस वर्ष मोटा धानको प्रतिक्विन्टल दुई हजार ७५१ र मध्यम धानको दुई हजार ८८५ रुपैयाँ दर निर्धारण गरेको छ । तर, किसान अहिले प्रतिक्विन्टल न्यूनतम १२ सयदेखि २ हजार रुपैयाँमा धान बिक्री गर्न बाध्य छन् ।
जिल्लामा कम्तीमा पनि ३० प्रतिशत धान बालीमा वर्षाले पूर्णरूपमा क्षति पुगेको थियो । व्यापारीले धान सस्तो मूल्यमा खरिद गर्न ‘सिण्डिकेट’ नै लगाएपछि किसानको लगानीसमेत नउठ्ने देखिएको छ । किसानलाई ब्यापारीबाट ठगिन नदिन सरकारले सहकारी र खाद्य ब्यवस्था कार्यालयलाई किसानको धान खरिदका लागि प्रोत्साहन गर्ने नीति लिए पनि जिल्लामा रहेका किसानले समर्थन मूल्यमा धान विक्री गर्न पाइरहेका छैनन् ।
गत वर्ष सरकारले पाँच हजार मेट्रिक टन धान खरिद गर्ने सहकारीलाई प्रति क्विन्टल ११२ रुपैँया अनुदान दिने र १८ प्रतिशत चिस्यान भएको धानमात्र खरिद गर्न निर्देशन दिएको थियो । खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, नेपालगन्जले गत वर्ष मोटा र मध्यम धान २०/२० हजार क्विन्टल खरिद गर्ने अनुमति पाएको थियो । तर, सरकारले मूल्य निर्धारण गरेपनि धान खरिदको कोटा भने अझै निर्धारण गर्न नसक्दा किसान मारमा परेका छन् । धान छिटो खरिद गर्दा धानमा चिसोपना हुने र धेरै समयसम्म भण्डारण गर्न समस्या हुने भएकोले सरकारले धान खरिदमा चासो देखाएको छैन ।
।