सूचनाको शक्ति - The Power Of Information

        

नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्दै ईगाउँका ज्येष्ठ नागरिक

मुरली बजाउँदै बाँकेको खजुरा गाउँपालिका–४ का युवा ब्यवसायी तथा समाजसेवी उज्वल विसी ।

बाँके । बाँकेको खजुरा गाउँपालिका ईगाउँमा ज्येष्ठ नागरिकहरूले परम्परागत संस्कृति हस्तान्तरणको अभियान सुरु गरेका छन् । सांस्कृतिक समूह बनाएर सक्रिय रहेका गाउँका अगुवाहरूले किशोर तथा युवालाई परम्परागत कला संस्कृति हस्तान्तरणको अभियान चलाएका हुन् ।

संस्कृति हस्तान्तरणका लागि यस वर्ष ८० वर्षीय ज्येष्ठ नागरिक र १२ वर्षीय किशोर किशोरीले संयुक्त रूपमा देउसीभैलो खेलेको स्थानीय अगुवा रूपसिंह भण्डारीले बताए । ‘पुख्र्यौली संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकेमा मात्रै यसको महत्व रहन्छ भनेर हामीले यो अभियान चलाएका हौँ,’ भण्डारीले भने ।

उनले पितापुर्खाबाट सिकेका कला संस्कृति नयाँ पुस्तालाई सिकाउनु आफुहरुको जिम्मेवारी भएको बताए । साबिकको मध्यपश्चिमका पहाडी जिल्लामा देखाइने मयूर नाच, कुरकुटी नाच, सिङ्गारु नाच, टप्पा नाच अगुवा पुस्ताले किशोर किशोरीहरूलाई सिकाउन सँगसँगै देउसीभैलो खेले ।

गाउँका अगुवासँग पुख्र्यौली नाच सिक्न पाउँदा उत्साह थपिएको स्थानीय युवा सुदीप बिसीले बताए । परम्परागत पोसाकमा सजिएर किशोरकिशोरीहरूले उत्साहका साथ नाचेका छन्, स्थानीय अगुवा शेरबहादुर बिसीले भने, ‘हामीपछिको पुस्ताले हाम्रो पुख्र्यौली संस्कृतिलाई निरन्तरता दिनेछ भन्ने विश्वास बढाएको छ ।’

ईगाउँमा साविक मध्यपश्चिम विकास क्षेत्रका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, रुकुम लगायतका जिल्लाबाट बसाइँसराइँ गरी आएकाहरूको बाहुल्य छ । पुरानो पुस्ताले बाँके जिल्लामा हुने विभिन्न कार्यक्रममा परम्परागत गीत र नृत्य प्रदर्शन गर्दै आएको स्थानीय अगुवा उज्ज्वल बिसीले बताए ।

नयाँ पुस्तालाई परम्परागत पुख्र्यौली संस्कृतिमा आकर्षित गर्न सुरुमा चुनौती भए पनि अहिले सबैले सहजरूपमा लिएर सक्रिय भएको देख्दा खुसी लागेको सांस्कृतिक समूहका अध्यक्ष बलबहादुर बिसीको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार ०८:१५