सूचनाको शक्ति - The Power Of Information

        

समाचार

जनगणना तयारी पूरा, ३९ हजार गणक तयारी अवस्थामा

काठमाडौं । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ को सबै तयारी पूरा भएको छ । बिहीबारबाट सुरु हुने राष्ट्रिय जनगणना २०७८ को सुरुवात सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिने भएको छ ।

यसैगरी, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिनेछ । जनगणनाका लागि आठ हजार ५०० सुपरिवेक्षक र ३९ हजार जना गणक तयारी अवस्थामा रहेका छन् ।

गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको र सोको आधारमा जनगणना गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका उपमहानिर्देशक डा.हेमराज रेग्मीले जनगणना २०७८ को सबै तयारी पूरा भएको जानकारी दिए ।

उनले भने, ‘अब गणकले घरघरमा पुगेर जनगणना कार्य प्रारम्भ मात्र गर्न बाँकी रहेको र अन्य सबै कार्य पूरा भएको छ ।’ बिहीबार बिहानैदेखि सबै गणकले घरघरमा पुगेर जनगणनाको कार्य सुरु गर्न मात्र बाँकी रहेको रेग्मीले बताए ।

यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । उक्त प्रश्नावलीले समग्र कृषि क्षेत्रको विवरण, बैङ्कमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण आउनेछ ।

घरघरमा पुगेर गणकले सोधेका प्रश्नबाट व्यक्तिगत विवरण आउने र सो व्यक्तिगत विवरणलाई आधार मानेर सुपरिवेक्षकले स्थानीय तहका वडाध्यक्षसँग क्रस चेकिङ गर्नका लागि वडा तहमा सामुदायिक प्रश्न सोधिन लागेको रेग्मीले बताए । यस वर्षको जनगणनाका लागि सरकारले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरेको छ ।

सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गरी हुन लागेको जनगणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका संरचना तयार गरिएको छ । यस वर्षको जनगणनाबाट वडाभित्रको जातजाति, धर्म, सेवाप्रवाह, राज्यले प्रदान गर्ने सुविधामा नागरिकको पहँुचलगायतका स्पष्ट रूपमा तथ्याङ्क आउने गरी प्रश्नावली तयार गरिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।

उनका अनुसार जनगणनाबाट सामाजिक, आर्थिक पूर्वाधार सेवा, सुविधा, विपत् जोखिमको अवस्था, एक वर्षभित्रमा भएका प्राकृतिक वा विपतको क्षतिको विवरण, वन्यजन्तु र जङ्गली जनावरबाट भएको क्षति, स्थानीयस्तरमा भएका जातजाति वा सीमान्तकृत नागरिकको बसोबास अवस्थाको तथ्याङ्क आउने छ ।

जनगणनाका क्रममा एक जना गणकले करिब १५० घरसम्म पुग्नुपर्ने गरी कार्यतालिका निर्माण गरिएको छ । लामिछानेले जनगणनाका लागि घरघरमा पुग्ने गणकलाई सत्यतथ्य विवरण प्रदान गरेर सहयोग गर्न सबैमा आग्रह गरे । नेपालमा हरेक १०÷१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । नेपालमा पहिलो जनगणना वि.सं. १९६८ मा भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार ०८:०२