सूचनाको शक्ति - The Power Of Information

        

आज छठ पर्व

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै, देशभर सार्वजनीक बिदा

पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । छठ पर्वको आज तेस्रो दिन । आजको दिनलाई छठ भनिन्छ । यस दिन व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रतको रूपमा बस्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्दछन् । अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ्य चढाउन रातभर त्यही जलाशय किनारमा जाग्राम बस्ने गर्छन् ।

आजको रात भजन कीर्तन र नाचगान गरेर जाग्राम बस्ने गरिन्छ । भोलिपल्ट बिहानै ब्रह्ममुहूर्तमा जलाशयमा गएर पूजा सामग्री तयार पारी सूर्योदय भएसँगै अञ्जुलीमा पानी लिएर चढाइन्छ । साथै चढाउनको लागि तयार पारिएको ठकुवा, भुसुवा, फलफूल तथा मिठाइहरू अर्पण गरिन्छ ।

त्यसपछि सबै व्रतालुहरू आआफ्नो घर गएर चढाएका ठकुवा, भुसुवा, फलफुल तथा मिठाइहरू प्रसादको रूपमा ग्रहण गरी व्रत समापन गर्दछन् । छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ । परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ ।

त्यस्तै, द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ । यो पर्व नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ । नेपालको तराई क्षेत्रमा मात्र मनाइने गरिएको यस पर्व अहिले नेपालभर मनाइने गरिएको छ । आज सरकारले देशभर सार्वजनीक बिदासमेत दिएको छ ।

विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ । सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार ०६:४२