सूचनाको शक्ति - The Power Of Information

        

समाचार

तीन प्रदेशमा फेरिए प्रदेश प्रमुख, कर्णालीमा तिलक परियारलाई सिफारिस

काठमाडौं । नेपाल सरकारले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश फेरेको छ । प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई नियुक्त गर्नका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रदेश १ मा केपी शर्मा ओली सरकारले नियुक्त गरेका सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख थिए । यसअघि २०७४ माघ ३ मा तत्कालीन देउवा सरकारले प्रदेश १ को प्रदेश प्रमुखमा गोविन्दबहादुर तुम्बाहाङलाई नियुक्त गरेको थियो । २०७६ कात्तिकमा तत्कालीन ओली नेतृत्वको सरकारले तुम्बाहाङलाई हटाएको थियो । तुम्बाहाङलाई पदमुक्त गरेपछि ओली सरकारले प्रदेश १ मा प्यासीलाई पठाएको थियो ।

त्यस्तै कर्णाली प्रदेशमा प्रदेश प्रमुख रहेका गोविन्दप्रसाद कलौनीलाई २०७६ कात्तिकमा ओली सरकारले नियुक्त गरेको थियो । २०७४ माघ ३ तत्कालीन देउवा सरकारले दुर्गाकेशर खनाललाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएको थियो । तर ओली सरकारले खनाललाई हटाएर कलौनीलाई नियुक्त गरेको थियो । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख रहेका गंगाप्रसाद यादवलाई ओली सरकारले ०७८ वैशाखमा प्रदेश प्रमुखका रुपमा पठाएको थियो ।

त्यसअघि २०७४ माघ ३ गते तत्कालीन देउवा सरकारले सुदूरपश्चिम प्रदेश प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरेको थियो । तर २०७६ कात्तिकमा तत्कालीन ओली सरकारले मल्ललाई पदमुक्त गरेर शर्मिला त्रिपाठीलाई नियुक्त गरेको थियो । ओली सरकारले नै ०७८ वैशाखमा त्रिपाठीलाई पदमुक्त गरेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलवार १६:४५