सूचनाको शक्ति - The Power Of Information

        

समाचार

कासा विमान चढेर प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा

काठमाडौं । कासा जहाज चढेर आज प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि भारत गएका छन् । बिहान ९ बजे सेनाको इन्डोनेसियामा निर्मित आफ्नै कासा जहाज चढेर उनी भारत गएका हुन् । भ्रमणमा ९ जना सहभागी छन् । तीमध्ये अधिकांश सेनापतिको सचिवालयका सदस्य हुन् ।

सोमबार जंगी अड्डामा भारत भ्रमणमा जाने टोलीको बिदाइ कार्यक्रम राखिएको थियो । यसअघि पूर्व प्रधानसेनापतिहरू नेपालकै जहाज चढेर भारत भ्रमणमा जाने गरेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । ‘यसअघि पूर्व प्रधानसेनापति एग्रो जहाज चढेर भारत भ्रमणमा जानुभएको थियो । अहिले कासा जहाजबाट प्रस्थान गर्नुभएको छ । हेलिकप्टरमा हामी कहिले पनि गएका छैनौ,’ उनले भने ।

विगतमा प्रधानसेनापति चढेको जहाज दिल्ली गएर फर्किन्थ्यो । त्यहाँबाट भारतीय सैनिककै जहाज चढेर ठाउँ ठाउँमा जाने गरेको उनी सुनाउँछन् । भ्रमणपछि लखनउ वा बैँगलोरबाट नेपाली सेनाकै सैनिक विमानबाट फर्किने कार्यक्रम हुन्थ्यो । यसपाली भ्रमण भारतको राजधानी दिल्लीमै सीमित भएकाले जहाज त्यही राखिएको र भ्रमण सकेपछि प्रधानसेनापति शर्मा त्यसैमा चढेर स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानसेनापतिको विदेश यात्राका लागि कासा जहाज पहिलोपटक प्रयोग गरिएको हो । उक्त जहाज सेनामा बहुउपयोगी काममा प्रयोग हुँदै आएको सेनाले जनाएको छ । जहाजमा कार्गो कम्पार्टमेन्ट छ । सो भाग सामान ओसारपसारमा काम लाग्ने बताइएको छ । यस्तै, भीआईपी सवारीका लागि जहाज प्रयोग गर्न सकिन्छ । जहाज पछाडिबाट खुल्ने भएकाले प्याराड्रपका लागि प्रयोगमा आउने गरेको छ ।

प्राकृतिक विपतमा पनि उक्त जहाजको उपयोग हुँदै आएको सेनाले जनाएको छ । सेनाको प्रयोग गरेको कासा बहुउपयोगी जहाज हो । भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा भारत गएका प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट भोलि सम्मान गर्ने कार्यक्रम छ । नेपाल र भारतबीच एक–अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ ।

यस्तै, प्रधानसेनापति शर्माले आजै भारतीय सेनाध्यक्ष नरवणेसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले जल र हवाई सेनाका प्रमुखसँग पनि भेटवार्ता गर्ने बताइएको छ । सैनिक स्रोतकाअनुसार शर्माले चिफ अफ डिफेन्स स्टाफ विपिन रावत र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलसँग बिहीबार भेटवार्ता गर्नेछन् ।

तर, प्रधानसेनापति शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस.जयशंकरसँग भेटवार्ता गर्छन् कि गर्दैनन् त्यसको भने अझै टुंगो नलागेको सैनिक स्रोतले जनाएको छ । चारदिने भ्रमण सकाएर प्रधान सेनापति शर्मा २६ कार्तिकमा स्वदेश फर्किने तालिका छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलवार १६:२८