सूचनाको शक्ति - The Power Of Information

        

सबै विद्यालय खुल्दै, स्वास्थ्य मापदण्ड पालना अनिवार्य

फाइल तस्वीर

काठमाडौं । भौतिक उपस्थितिमा पठनपाठन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ ।

तिहार र छठलगत्तै सबै विद्यालय खुल्ने तयारी भइरहेको बेला उज्यालोसँगको कुराकानीमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनः सञ्चालन कार्यढाँचा, २०७७ मा भएको व्यवस्था पालना गर्न आग्रह गर्नुभएको हो ।

कार्यढाँचामा अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, धेरै विद्यार्थी भए सिफ्टमा पठनपाठन गर्नुपर्नेलगायत व्यवस्था उल्लेख छ ।

मापदण्ड पालना भए, नभएबारे पालिकाहरुले अनुगमन गर्नेछन् । तर यसअघि खुलेका धेरै विद्यालयले स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ । साना कक्षाका बालबालिकाले मास्क साटासाट गर्ने, एउटै बोतलमा पानी पिउने तथा भौतिक दूरी पालना नगर्ने समस्या देखिएको छ ।

कतिपय विद्यालयमा शिक्षकले नै मास्क नलगाउने गरेको पाइएको अभिभावकको गुनासो छ । मन्त्रालयका प्रवक्ता शर्माले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व शिक्षक र प्रधानाध्यापकको भएकाले विद्यार्थीको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । यस्तै विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरे, नगरेकाबारे जानकारी लिन उहाँले अभिभावकसँग पनि आग्रह गर्नुभएको छ ।

वैशाखमा लकडाउन भएपछि बन्द भएका विद्यालय भदौको पहिलो हप्तादेखि खुल्न थालेका हुन् । सरकारले कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने अधिकार पालिकाहरुलाई दिएको छ । गाउँठाउँका धेरै विद्यालयमा दशैँअघि नै पठनपाठन सुरु भएको छ । तर काठमाण्डौसहित सहरी क्षेत्रका विद्यालयमा भने दशैँ तिहारको बीचमा पनि बिदा हुने भएकाले केही विद्यालय मात्र दशैँअघि खुले । दशैँ तिहारको छुट्टीपछि अब सबै विद्यालय खुल्ने तयारीमा छन् ।

विद्यालय खुले पनि कोरोनाको जोखिम भने कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न सरकार र सरोकारवालाले आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार ०८:४७