सूचनाको शक्ति - The Power Of Information

        

चिसोको सकस

चीनतिरको नाका सुरक्षाकर्मीबिहीन, चिसो छल्न छांगरु झर्‍यो प्रहरी

दार्चुला । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो ।

कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायाँलेक स्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । हिमपातका कारण अत्यधिक जाडो बढेर पानी समेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ ।

अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् । त्यहाँका स्थानीयवासी आगामी मङ्सिर पहिलो सातामात्रै सदरमुकाम खलङ्गा बसाइँसराइ (कुञ्चा)सर्ने तयारी भएको व्याँस गाउँपालिका–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए । ‘बढी हिमपात भयो भने यो महिनाभित्रै कुञ्चा सर्ने सम्भावना छ, अस्ति दुईपटक हिमपात हुँदा आधा फिट हिउँ जमेको थियो,’ उनले भने ।

तिंकरमा रहेका प्रहरी जाडोयाममा वर्षेनी नजिकका अन्य युनिटमा सर्ने गर्छन् । अहिले प्रहरीका लागि छांगरु नीतिकुण्डमा पक्की भवन निर्माण सुरुआत भएको छ । तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी)को भवन यस वर्ष निर्माण भएको छ तर सशस्त्र प्रहरीले बस्न सुरु गरेको छैन । चीनसँग जोड्ने मार्गमा रहेको प्रहरी चौकी भवन सुविधा सम्पन्न नहुँदा सुरक्षाकर्मी त्यहाँ बाह्रैमास बस्न सक्दैनन् ।

छांगरुमा सशस्त्र प्रहरीको नम्बर ५० गुल्म स्थापना छ । गुल्मका लागि गत वर्षबाट भवन निर्माण सुरु भए पनि अधुरै छ । सशस्त्रले अहिले भाडाको घरमा बसेर ड्युटी गर्दै आइरहेको छ । यहाँका स्थानीयवासी छ महिना चिसो छल्न सदरमुकाम खलङ्गा र छ महिना गर्मी छल्न व्याँसको छांगरु तिंकर उक्लिने गर्छन् । उनीहरू नेपालतिर आउने बाटो नभएपछि हरेकपटक भारतीय बाटो हुँदै बसाइँसराइ गर्ने गरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतवार १४:४८