सूचनाको शक्ति - The Power Of Information

        

१४ औं महाधिवेशन समयमै हुन्छ, जित–हारमा दुस्मनी नबढोस् : सभापति देउवा

भक्तपुर। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन्।

काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले महाधिवेशन हुँदैन भन्नेहरूका कुरा नपत्याउन आग्रह गरे ।

उनले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताए । प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुने बताए ।

उनले भने, ‘जसले जे भनेपनि नपत्याउनुस् । अधिवेशन समयमा हुन्छ, हुन्छ । अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन । निर्वाचन समितिको हातमा छ । मैले चाहेर पनि हुँदैन । त्यसकारण उहाँहरु महाधिवेशन गर्न प्रतिबद्ध हुनुहुन्छ ।’

उनले अघि भने, अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिष्पर्धाबाट सभापति बनाउनुस्, त्यसमा जित हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ, र जित हारमा दुश्मनी नबढोस्, पार्टी भित्रको मामिला हुनाले जित हारमा दुश्मनी नबढोस्।’

प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे। बेलायतमा मन्त्रीहरुले एष्ट्राजेनिकाको खोप तीन पल्ट लगाउनुपर्ने बताएको भन्दै उनले सबैले तीन पटक एष्ट्राजेनिकाको खोप लगाउन आग्रह गरे । उनले भक्तपुरका एक सांसदलाई बागमती प्रदेश सरकारको मन्त्री बनाउने आश्वासन दिए ।

१४ औं महाधिवेशन ​मंसिर २४–२६ मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन समितिको तयारी छ । मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिएको देउवाले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार १९:२९